काठमाडौं- सरकारले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने तयारी गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ।
सोमबार विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल छैठौका विमल पोखरेलले सयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेको बताएका छन्।
संगठनले अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले एमसीसी परियोजना ल्याइएको भन्दै जबर्जस्ती पारित गरे कडा प्रतिकार र संघर्ष गर्ने चेतावनीसमेत दिएको छ।
‘नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ । कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जोरजवर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं।’
नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको भन्दै संगठनले कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय नभएको समेत स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।