फाइल तस्बिर।
काठमाडौं- एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। सोमबार राष्ट्रिय युवासंघको भेलामा उनले सभामुख सापकोटा एमाले फुटाउने षडयन्त्रमा सरिक भएको भन्दै सामान्य आदरार्थी शब्द पनि प्रयोग नगरी आरोपित गरेका हुन्।
भदौ १ गते एमालेले १४ सांसदलाई निष्कासन गर्दै त्यसको जानकारी संसद् सचिवालयलाई गराएको थियो। सभामुखले ती सांसदहरू पदमुक्त भएको सूचना तत्कालै टाँस नगरी अध्ययन र परामर्श गरेको भन्दै समय व्यतित गरेका थिए।
सोही समयमा निर्वाचन आयोगले एमाले विभाजनको प्रक्रिया टुंग्याएको थियो। समयमै सूचना टाँस नगरेको भन्दै ओलीले सापकोटालाई लाञ्छित गरेका हुन्।
'सभामुखसँग विचार गर्ने कुनै अधिकार छैन। भित्तामा सूचना टाँस्ने हो। भित्तामा सूचना टाँस्न उसलाई धेरै विचार गर्नुपर्छ? सूचना टाँस्ने कर्तव्य पूरा गर्न उसलाई विचार गर्नुपर्छ, धेरै? यो सबै जालझेल हो, षडयन्त्र हो, तिकडम हो। तर जाली फटाहाहरुले खाने समय अब गए। अब जाली फटाहाहरुको समय धेरै चल्न सक्दैन। पर्सि संसद् सुरु हुँदैछ। हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ- सभामुख हो कि, कुनै पार्टीको कार्यकर्ता कि, गठबन्धनको मतियार हो कि, एमाले विरुद्धको साँठगाँठकर्ता जालीझेली काम गर्ने एउटा मोहरा हो कि। के हो सभामुख भनेको? त्यो सोध्नुपर्ने छ', उनले भने।
सापकोटा प्रमुख प्रतिपक्षी पार्टी फुटाउन षडयन्त्रमा सरिक भएको ओलीको आरोप छ। 'षडयन्त्रको हिस्सेदार, षडयन्त्रको भागिदार र एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन', उनले भने, 'सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनैपर्ने हुन्छ। अग्निप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो? एमाले विरोधी हो? एमालेविरुद्ध षडयन्त्र गर्ने षडयन्त्रको अखडा हो त्यो? त्यस विषयमा हामीले सोध्नैपर्ने छ।'
सभामुख सापकोटाले अघिल्लो अधिवेशन सुरु हुँदा दिएको मन्तव्यप्रति पनि आक्रोश व्यक्त गरे। 'सभामुखको आसनबाट यो अधिनायकवादको पराजय हो भन्छ संसद् पुनःस्थापना। त्यसप्रकारको भाषा बोलिन्छ? प्रमुख प्रतिपक्षका विरुद्ध आक्रमण र हमला गरिन्छ? सभामुखको कुर्सीबाट राजनीतिक लाञ्छना लगाइन्छ? कुनै नर्म्स थाहा छैन, भ्यालु थाहा छैन, महत्त्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ। कस्तो दुर्भाग्य यो देशको। लडेर, बलिदान दिएर यत्रो सिस्टम ल्याइयो। त्यो सिस्टमका टुप्पाटुप्पामा कस्ता मान्छे, हेर्नुस् त अनुहार यसो सम्झिएर। के भएको टुप्पाटुप्पामा यसो हेर्नुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।