काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई 'घरको बाघ, वनको स्याल' भएको टिप्पणी गरेका छन्। सोमबार राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै उनले तुइन फुस्काएर नेपाली युवालाई नदीमा खसाइदिएको घटनाका सन्दर्भमा सरकारले भारतसँग कुरा नगरेको भन्दै आलोचना गरेका हुन्।
'नेपाली झारिन्छ। प्रतिवेदन आउँछ झारिएको हो भनेर। बोल्न सक्नुहुन्न। भारत भन्छ, थाहा छैन। उहाँहरुलाई थाहा छैन भने नेपालमा सरकार होला नि आफ्नो नागरिक झारिएर मारिँदाखेरी यस्तो भयो भनेर किन थाहा दिनुहुन्न? नेपाल सरकारले थाहा दिन सम्म सक्दैन? त्यस सम्बन्धमा प्रश्न उठाउन पनि सक्दैन? नागरिक मारिँदाखेरी पनि चुइक्क बोल्न पनि सक्दैन। अनि यहाँ सडकमा त लाठी लगाउन सक्छ, युवाहरु यसो बोल्नेबित्तिकै। यस्तैलाई भन्छन् घरका बाघ, वनका स्याल', उनले भने।
ओलीले आवाज उठाउने युवालाई यातना दिइएको भन्दै सरकार नालायक भएको बताए। 'देशभित्र देशका लागि बोल्ने युवाहरु, निहत्था युवाको आवाज दबाइन्छ। लाठी बर्साइन्छ। गिरफ्तार गरिन्छ। राष्ट्रियताको लागि बोल्ने युवाहरुलाई थुनिन्छ। यातना दिइन्छ', उनले भने, 'तर, नेपालमाथि ज्यादतीको बारेमा चुइक्क बोल्न सकिँदैन। योभन्दा नालायकी के हुन्छ?'
देशको भूभागमा दशौं हेलिकोप्टर घुमिरहँदा पनि नबोलेको भन्दै आलोचना गरे। 'कारण के हो, किन हो यस्तो गरेको, सोध्न पनि नसक्ने। अनि उहाँहरुले कसरी जनताको प्रशंसा पाउनुहुन्छ?', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।