काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम गर्न नसक्ने हल्लामात्रै गर्ने रहेको टिप्पणी गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता बस्नेतले देउवा नेतृत्वको सरकारलाई मापसे सरकार भएको टिप्पणी गरे।
‘मापसे सरकारले मापसे गतिविधि गरिरहयो भने युवा पंक्ति तह लगाउन तयार हुनेछ,’उनले भने,‘प्रतिपक्षमा भएकाले जति सक्दो चाडो निर्वाचनको लागि प्रक्रियामा गएर निकास दिने बाहेक अन्य कुनै सम्भावना देखिदैन।’
वर्तमान सरकार बनेको ५५ दिन भइसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरमा कुम्भेश्वर महादेवको मन्दिर र आफ्नो जिल्लामा कांग्रेसको वडा अधिवेशन मात्रै उद्घाटन गर्न सकेको उनले बताए।
‘देउवाले महेश बस्नेतलाई हराउँछु भनेर मेरै जिल्लामा घोषणा गर्नुभएछ,’ उनले भने,‘आगामी निर्वाचनमा देशभर कांग्रेसले हार्ने छ । प्रचण्ड र माधव नेपालको पार्टीको हालत पनि देखिने छ।’ हिजो माधव नेपालले नेकपा एमालेको नेतृत्व गर्दा व्यक्तिगत लाभ लिने काम गरेर पार्टीलाई कमजोर बनाउने काम गरेको उनको आरोप छ।
‘मन्त्री बन्ने र स्वार्थ समूहसँग मिलेर नेकपा एमालेलाई चुनौती दिने हिसाबले माधव नेपाल मैदानमा आउनुभएको छ,’उनले भने,‘यो पार्टीलाई माधव नेपालले चुनौती दिन सक्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।