काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले बाढी पहिरो लगायतका विपद् प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन्।
उनले टेलिफोनमा निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर वर्षातका कारण आएको पहिरो र बाढीको असरबारले जानकारी लिए।
प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
प्रजिअ सापकोटाले ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जानकारी दिए। घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका छन्।
मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पुर्याएको उनले बताए।
त्यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ मा फगाम खोला गाँउमा वीरबहादुर घर्तीको ग्यारेजमा पसेर रा १ ख २०६८ नम्बरको बस बगाएको छ।
त्यस्र्तै मन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफाने गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिए।
प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुवानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पुर्याएको जानकारी मन्त्रीलाई गराएको जानकारी दिए।
मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाणलाई उनले गराए। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे मन्त्री खाँणले जानकारी लिए।
कारागारमा हिजो अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे जानकारी लिए।
प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।