काठमाडौँ– कुशे औँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ। ‘नेपालय कविता’ अन्तरगत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा रचित करुण रसका कविताहरुको संग्रह हो।
‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार स्व.विष्णुराज आत्रेयकी छोरी अलकालेआफ्ना पितालाई अर्पण गरेर ‘निनाद वल्लरी’ शोककाव्य लेखेकी हुन्। यस काव्यले पिता-पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलीमा अभिव्यक्त गरेको छ। छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरिएको छ ।
दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी चूडाल हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्। उनको लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजन पाइन्छ। कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चूडालको यो दोस्रो खण्डकाव्य हो।
पितृवियोगको पीडादायी अनुभूति र गुम्सिएका घाउहरुलाई निको पार्न छन्द कविताको आश्रय लिएको चूडालको भनाइ छ। भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने उनले बताएकी छिन्। ‘बुवाको साहित्यप्रतिको स्नेह जीवनपर्यन्त रह्यो,’ उनले भनिन्, ‘हाम्रा कतिपय धार्मिक विधानहरूमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ । शोकमा व्याकुल भएको बेला मलाई ती विधानहरू अप्रिय लागेका थिए । धेरै सोचे पछि मलाई लागेको थियो मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अर्थोक के होला?’
नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य रु.१६५ छ। साथै को ई–बुक, अडियो बुक र थुप्रै डटकममा पनि उपलब्ध हुने नेपालयले जनाएको छ। विश्व बजारमा अमेजनमार्फत् पनि उपलब्ध हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।