काठमाडौं- केही दिन पहिले नेकपा एमाले छाडेका सो पार्टीका उपाध्यक्ष बामदेव गौतम एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जोडिने भएका छन्। गत शुक्रबार गौतमले एमाले उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै पार्टी केन्द्रीय कार्यालय थापाथलीमा राजीनामा–पत्र बुझाएका थिए। राजीनामापछि मौन बसेका गौतम केही दिनभित्रै एकीकृत समाजवादीमा खुल्ने तयारीमा छन्।
‘वामदेव कमरेडले एकीकृत समाजवादीमा खुल्ने भनेरै एमालेबाट राजीनामा दिनु भएको हो। उहाँलाई वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने मोटामोटी सहमति भइसकेको छ’, एकीकृत समाजवादीका एक शीर्ष नेताले भने, ‘वामदेव कमरेड अहिले एकता अभियानमा लागेका साथीहरुसँग परामर्श गरिरहनु भएको छ। त्यहाँ जोडिएका सबै साथीहरुलाई समेटेर कुन-कुन भूमिकामा राख्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहनु भएको छ।’
वामदेवले एकता अभियानमा जोडिएका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा उचित भूमिका दिनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालमाथि दबाब बढाएका छन्। एकीकृत समाजवादीमा जोडिएलगत्तै सरकारमा सहभागी गराउने विषयमा समेत छलफल भइरहेको ती नेताले दाबी गरे। गौतमको नेतृत्वमा सरकारमा जाने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको उनले बताए।
तर, गौतमनिकट एक नेताले भने राष्ट्रिय एकता अभियानमा कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको बताए। ‘केपी कमरेडले कम्युनिस्ट आन्दोलन र विचारलाई त्यागेकाले उहाँले (गाैतमले) एमाले छोड्नु भयो। अब उहाँ जनताको बहुदलीय जनवाद (जबज) र समाजवादी नीति तथा कार्यक्रम अख्यितार गर्ने पार्टीमा जोडिनुहुन्छ’ ती नेताले भने, ‘विचार र सिद्धान्त मिल्ने पार्टीमा जोडिने भन्ने नै छ। त्यसै अनुसार उहाँ खुल्नु हुन्छ।’
गौतमको पक्षमा तत्कालीन नेकपामा १६ भन्दा धेरै केन्द्रीय सदस्य भएपनि एकता राष्ट्रिय अभियान सुरु गरेपछि हरिप्रसाद पराजुलीले मात्रै साथ दिएका थिए। हाल गौतमको पक्षमा पराजुलीसहित स्थानीय तहका प्रमुख/उपप्रमुख रहेका छन्। उनी एकीकृत समाजवादी पार्टीमा खुलेमा विशेषगरी दाङ र प्युठान जिल्लाका स्थानीय तह र पार्टीमा प्रभाव पर्ने नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।