काठमाडौं– नेपाल बार एसोसिएसनको आइतबार बसेको सल्लाहकार समितिको बैठकमा कानुन व्यवसायीहरु दुई पक्षमा विभाजित भएका छन्। बैठकमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, चण्डेश्वर श्रेष्ठ, शेरबहादुर केसी, रमेश बडाल र टीकाराम भट्टराईले आफ्नो धारणा राखेका थिए।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले विषय प्रवेश गराउँदै छलफलको थालनी गरेका थिए। सुरुमै वरिष्ठ अधिवक्ता दाहालले आफ्नो धारणा राखेका थिए। बार सधै कानुनको पक्षमा खडा हुनुपर्ने भन्दै दाहालले अहिले संविधानको रक्षाका लागि उभिनुपर्ने बताए। पछिल्लो समयमा देखिएको विकृतिविरुद्ध बार नरम हुँदै गएको उनको भनाइ थियो।
उनीपछि अधिवक्ता भट्टराईले आफ्नो धारणा राखेका थिए। क्रमशः बडाल अनि शेरबहादुर केसी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो धारणा राखेका थिए।
बैठकमा सवैभन्दा चर्को रुपमा पूर्व महान्यायाधिवक्ता बडाल प्रस्तुत भएका थिए। उनले कानुन व्यवसायीदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कदमसम्म बचाउ गर्दै अन्य वरिष्ठ अधिवक्ताप्रति कटाक्ष गर्दै बोलेका थिए।
सर्वोच्च अदालतले दिने वरिष्ठ अधिवक्ताको उपाधिमा आफूलाई रोक्ने लविङ भएको टिप्पणीसमेत उनले गरे। ‘केही वरिष्ठ दाइहरू मलाई वरिष्ठ अधिवक्ता बनाउन हुँदैन भनेर लविङमा लाग्नु भएको छ,’ उनले भने, ‘सक्नुहुन्छ भने रोक्नुस् म पनि हेरुँला।’
संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्कीसमेत भयो।
बैठकमा सहभागी एक पूर्वपदाधिकारीका अनुसार पूर्व महान्यायाधिवक्ता बडालले बार एसोसिएसनको भूमिकामाथि नै प्रश्न उठाएर ओलीको बचाउ गर्ने अन्यको आलोचना गर्ने गर्न थालेपछि चर्काचर्की भएको हो।
‘विगतमा केपी शर्मा ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने बार अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा किन मौन बसेको?’ बडालले प्रश्न गरे, ‘संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीश बेगरको संवैधानिक इजलास बस्दा पनि बार किन मौन।’
कानुन व्यवसायी पनि आफ्नो आचारसंहिता नाघेर काम गर्न थालेको आरोप उनले लगाए। ‘तपाईंहरू आफैंले बनाएको सरकार हो, यो सरकारले हिजो एमसीसीको विरोधमा नबोल भनेर प्रेस विज्ञप्ति नै जारी गर्छ, तुइन काटेको विषयमा समेत यो सरकारले केही नगर्दासमेत बार बोलेको छैन,’ बडालले भने, ‘यस्ता विषयमा अभिव्यक्ति स्वतन्त्रता भनेर पहिले पहिले त बार भयंकर बोल्थ्यो, अहिले यस्ता विषयमा किन केही बोलेको छैन?’
इजलासमा न्यायाधीश तोक्ने विषयमा पनि दुइथरि कुरा हुने गरेको उनको भनाइ छ। आफूलाई अनुकुल हुँदा गोलाप्रथावाट छान्ने भन्ने अनि फेरि वरिष्ठ न्यायाधीशको इजलास हुनुपर्छ भन्ने दोहोरो मापदण्ड सुरु भएको हो भनी उनले प्रश्न उठाए। ‘कुन मुद्दामा कुन न्यायाधीश तोक्ने भन्ने विषय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन अनुसार यदि चिट्ठाले तोक्ने हो भने भोलि संवैधानिक इजलासमा पनि लट्री नै लगाउनुपर्ला,’ उनले भने, ‘त्यसपछि वरिष्ठतम न्यायाधीश पनि नपर्न सक्छ’ लट्री सिस्टम लाग्यो भने वरिष्ठ भएर पनि इजलासमा परिनँ भनेर भन्न मिल्दैन।’
उनले वरिष्ठ अधिवक्ताको उपाधिको विषयमा पनि केही अधिवक्ताले केही मानिसलाई दिन हुँदैन भनी न्यायाधीशकोमा पुगेको आरोप लगाए। ‘केही बारका अध्यक्ष, पूर्व अध्यक्ष गएर फलाना, फलानालाई वरिष्ठ अधिवक्ता दिनु हुन्न भनेर भन्नुभएछ, त्यसो गर्नु ठीक हो?’ बडालले प्रश्न गरे, ‘मापदण्डमा जे छ, त्यही अनुसार हुनुपर्छ भन्न सक्नुहुन्न।’
वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश हरि फुयाँलको एकल इजलासवाट भएको आदेशको विरोध गरे। गलत गरेको समयमा बारले न्यायाधीश गलत हो भनेर भन्न सक्नुपर्ने तर्क उनको थियो। ‘अब पत्रकारले पनि बोल्न नपाउने, पूर्व न्यायाधीशले पनि बोल्न नहुने, कानून व्यवसायीले समेत बोल्न नहुने, बारले संस्थागत निर्णय गर्न नपाउने अवस्था आएको हो,’ उनले भने, ‘संकटकालमा त अभिव्यक्ति स्वतन्त्रताका लागि बारले लडाइँ लड्यो, तर अहिले यी कुरालाई पनि फुयाँलको आदेशले व्याख्याको विषय बनाएको छ।’
बडालले चर्को रुपमा आलोचना गरेपछि थापाले उनलाई पनि जवाफ दिएका थिए। ‘नेकपा एमालेको बुटवल महाधिवेशनबाट न्यायाधीश हरि फुयाँल केन्द्रीय अनुशासन आयोग सदस्य विजयी हुनु भयो,’ थापाले भने, ‘यही वापत उहाँ सर्वोच्चको प्रधानन्यायाधीश हुने गरी स्थायी न्यायाधीश खानु भयो।’
अहिले कसरी के आदेश भयो भन्ने कुरा हेर्दा विगत पनि हेनुपर्ने अवस्था आएको उनको भनाइ थियो। ‘मैलेसमेत भोट दिएको पार्टी हो एमाले। हामी सवैको भोटले एमालेले बहुमत ल्यायो त्यही वापत केपी ओली प्रधानमन्त्री बन्नु भयो। हरि फुयाँल न्यायाधीश त रमेश वडाल महान्यायाधिवक्ता बन्नु भयो,’ उनले भने, ‘ब्याज चै खाने अनि पार्टीको अवस्था नहेर्न त हुँदैन होला?’ एमाले ओली वा बडालको मात्र पार्टी नभएको कुराप्रति लक्षित गर्दै ब्याज खाएर बचाउमात्र नगरी गलत कदमको विरोध गर्न उनले आग्रह गरे।
अभिव्यक्ति स्वतन्त्रताको विषय बनाउनुपर्ने अदालतले नै सब चुपचाप बस्नुपर्छ भनेर विचाराधीन विषय बनाएकाले बारले यसमा ठोस निर्णय गरेर बोल्नुपर्ने थापाको भनाइ थियो। आदेश र रिट दर्ताका विषयमा धेरै प्रश्न भएकाले बारले यस्तै वेलामा आफ्नो धारण प्रष्ट राख्नुपर्ने उनको तर्क छ।
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले पनि प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासको परिकल्पना नै नहुने भएकाले उनलाई अलग गराउन नहुने राय दिए। ‘भर्खर आएका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा जान बारले भूमिका खेल्नुपर्छ,’ उनले भने ‘वकिल, न्यायाधीश ज–जसलाई जे कारवाही गर्नुपर्छ फटाफट गर्नुपर्यो।’
अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश फुयाँलको एकल इजलासवाट भएको आदेशले न्यायिक अराजकता निम्त्याउने टिप्पणी गरे। ‘उक्त आदेशले न्यायिक अराजकता निम्त्याउँछ, अदालतको प्रक्रियालाई गन्जागोल बनायो,’ उनले भने, ‘यो आपत्तिजनक विषय हो, त्यसको बारले कडा शव्दमा विरोध गर्नुपर्छ।’
‘पञ्चायतकालमा पनि यस्तो आदेश आउने गरेको थिएन, यो प्रतिगामी आदेश हो,’ भट्टराईले भने, ‘गणतन्त्रमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाइ रोक्न एकल इजलासले आदेश दिन मिल्दैन।’
सल्लाहकार समितिको बैठकमा हालसम्म पाँच जनाले आफ्नो कुरा राखेका छन्। अन्य सहभागीको कुरा वाँकी नै भएकाले छलफल मंगलवार निरन्तर राखिएको बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले बताए। २५ जना वक्ताले बोल्न बाँकी रहेकाले मंगलवारको लागि बैठकलाई निरन्तरता दिने निर्णय गरिएको उनले बताए।
अहिले विभिन्न विचार आउने क्रम जारी रहेकाले बैठक सकिएपछि सबै वक्ताहरूको विचारको आधारमा निष्कर्षमा पुगेर बारले संस्थागत निर्णय गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।