मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० जोगीमाराबाट शुक्रबार राति त्रिशुली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन्।
भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नम्बरको ट्रक सडकबाट ९० फिट तल त्रिशुलीमा नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए। नदीमा सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन्।
नदीमा ट्रकसमेत डुबेको अवस्था छ। सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी भइरहे पनि नदीको तह बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।