काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा भियनामा आयोजना हुने एक कार्यक्रममा सहभागी नहुने भएका छन्। आइतबार साँझ सभामुख अष्ट्रियाको राजधानी भियनामा हुने कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको थियो।
विश्वभरका सभामुखहरुको सम्मेलनमा सहभागी हुन सापकोटा भियना जाने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो। तर, शनिबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेपछि सापकोटा रोकिएका हुन्।
संसद् सचिवालयले संसद् अधिवेशन आह्वान भइसकेकाले सभामुख सापकोटा भियनामा नजाने जानकारी दिएको छ। आइतबार भियनामा गएर भदौ २५ गते सभामुख स्वदेश फर्किने कार्यक्रम रहेको थियो।
उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल र एमाले सांसद लालबहादुर थापा भने जाने भएका छन्। कांग्रेस सांसद भीमसेनदास प्रधान भने पार्टीको वडा अधिवेशन चलिरहेकाले नजाने भएका छन्।
कार्यक्रममा सहभागी हुन भीयना प्रस्थान गर्न लागेका एमाले सांसद थापाले आफू र राष्ट्रिय सभाका उपाध्यक्ष मात्रै नेपालको तर्फबाट सहभागी हुन लागेको जानकारी दिए। इन्टर पार्लियामेन्टरी युनियनले सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।