काठमाडौं- नेकपा (एमाले) सुनसरीले विगतमा विपक्षमा रहेका व्यक्तिहरुलाई जस्ताको त्यस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने निर्णय गरेको छ।
जिल्ला कमिटीको बैठकले केन्द्रको निर्णय जिल्लाको वस्तुगत अवस्था र वर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी रचनात्मक ढंगले कार्यान्वयन गरिनुपर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटीको यही भदौ १० गतेको निर्णयको मर्म र भावना बमोजिम २०७५ जेठ २ गतेको पूर्वअवस्थामा कमिटीहरु सञ्चालन गर्दा पार्टीले गतिशीलता प्राप्त गर्न नसक्ने हुँदा केन्द्रीय कमिटीको निर्णयलाई जिल्लाको अवस्था अनुसार कार्यान्वयन गर्ने निर्णय गरिएको एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीले जानकारी दिए।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई जेठ २ को अवस्थाबाट नै अगाडि बढाएर लैजाने र केन्द्रदेखि गाउँतहसम्म नेताहरूको पदीय जिम्मेवारी कायम हुने निर्णय गरेको थियो।
केन्द्रीय कमिटीको निर्णयमा पार्टी एकताको भावना र जीवन्ततालाई ख्याल गर्ने विषयलाई जिल्लामा विशिष्टिकृत रुपमा लागू गर्ने निर्णय भएको एमाले सुनसरीका अध्यक्ष भण्डारीले बताए।
एमाले सुनसरीले २०७७ फागुन १ गते गठन भएको पार्टी जिल्ला कमिटी र त्यसपछि जिल्ला कमिटीको नेतृत्वमा गठन भएका पार्टीका पालिका, वडा, जनवर्गीय संगठनका जिल्ला, पालिका तथा वडा कमिटीका हजारौं पार्टी कार्यकर्ताको सञ्चालन र व्यवस्थापनको टुङ्गो लगाउनु पर्ने भनेको छ।
२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने सम्बन्धमा नेतृत्व व्यवस्थापन गर्दा तल्लो तहसम्म नै संकटका बेला पार्टी काममा लागेर पार्टी जोगाएका र अहिले पनि विपक्षी गठबन्धनसँग मिलेर आन्दोलन गर्ने भनिएकाहरुको सम्बन्धमा उचित निष्कर्ष निकाल्नु पर्ने बैठकको निर्णय गरेको भण्डारीले बताए।
‘सबै विषयवस्तुहरुलाई ध्यान नदिई कुनै निर्णय भएमा जिल्ला कमिटी मात्र नभई जिल्लाका हजारौं हजार कार्यकर्तालाई स्वीकार गर्न असजिलो हुने र कार्यकर्ताहरुलाई असजिलो भए पार्टी नै कमजोर बन्ने अवस्था रहेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।