काठमाडौं- साताको पहिलो कारोबार दिन नेपालको पुँजीबजार उच्च अंकले घटेको छ। आइतबार (आज) पुँजीबजार मापक परिसूचक नेप्से १०८.२६ अंकले घटेको हो।
आइतबार बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्सेमा दुई घण्टा नबित्दै नकारात्मक सर्किट लागेको थियो। १२ बजेर ५९ मिनेटमा नेप्से ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि सर्किट ब्रेक लगाएर बजार बन्द गरिएको थियो।
त्यसपछि खुलेको समयमा केही अंकमा सुधार भए पनि बजार बन्द हुँदासम्म पुन: १०८ भन्दा बढी अंकले नेप्से ओरालो लागेको छ। आज नेप्से घटेर २८१८.७३ विन्दुमा ओर्लिएको छ।
आज नेप्सेमा कूल ११ अर्ब २४ करोड तीन लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२३ वटा कम्पनीका दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर एक लाख २९ हजार १४२ पटक खरिद-बिक्री भएका थिए।
ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०२ विन्दुमा ओर्लिएको छ।
आज छ वटा कम्पनीको मात्र सेयर मूल्य बढेका छन्। बाँकी १७९ कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ।
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन्। १३ वटा कम्पनीको मूल्य १० प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेको थियो।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट लिमिटेडको सेयर सबैभन्दा धेरै ७० करोड ३३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सानीमा इक्युटी फण्ड अग्रस्थानमा रह्यो। उक्त फण्डको सबैभन्दा धेरै १८ लाख २७ हजार ३०० एकाइ कारोबार भएको थियो। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा धेरै तीन हजार ८६६ पटक किनबेच भएका थिए।
यी हुन् धेरै गुमाउने कम्पनीहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।