काठमाडौं– भदौ ६ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिपत्र जारी गर्दै विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको जानकारी गराए।
जसमा प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्जको जिम्मेवारी र कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको उल्लेख गरियो।
जनार्दन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाए भने केही प्रदेशमा नयाँ इन्चार्ज तोकियो। प्रवक्ताको जिम्मेवारी 'खोसिएका' श्रेष्ठ त्यसपछि असन्तुष्ट भएको विषय सार्वजनिक भयो। कतिसम्म भने उनी एमाले प्रवेश गर्दैछन्, पार्टी विभाजन गर्दैछन् भन्ने केही समाचारहरू समेत सार्वजनिक भए।
यसविषयमा श्रेष्ठले आफैंले त केही बोलेका छैनन्। तर, उनीनिकट नेताहरूले भने यसको प्रतिवाद गरेका छन्।
एमाले-माओवादी एकता हुनुअघि माओवादीकी प्रवक्ता पम्फा भुसाल थिइन्। दुई पार्टीको एकतापछि श्रेष्ठ प्रचार विभाग प्रमुख तथा प्रवक्ता बनाइएका थिए।
नेकपा विभाजन भएपछि श्रेष्ठले नै माओवादी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। माओवादीले विभिन्न विभागको टुंगो लगाउने क्रममा प्रचार तथा प्रकाशन विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको हो।
अहिले प्रवक्ताको जिम्मेवारीबाट हटाइएको भन्दा पनि आफै छोडेको उनीनिकट स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जिकिर गरे। ‘प्रवक्ता आफैं छाड्नु भएको हो। जतिबेला नेकपामा प्रवक्ता बनाइयो, त्यतिबेला प्रवक्ता बन्दिनँ भन्नु भएको थियो,’ पोखरेलले भने, ‘तर, मूल लिडर पनि प्रवक्ता भएका छन् भन्ने भएपछि प्रवक्ता हुनु भएको हो। अहिले प्रवक्ताबाट हटाएको विषयमा असन्तुष्टि होइन।’
राजनीतिक घटनाक्रममा कतिपय शक्तिहरुले भ्रम श्रृजना गर्न खोजेको पोखरेलले बताए। ‘प्रकाश कमरेडका विषयमा प्रवक्ताबाट हटायो, पार्टी विभागमा असन्तुष्ट भएको, त्यसैले एमालेमा जान लागेको जस्तो नहुने कुराहरु आइरहेका छन्। त्यस्तो पनि कुनै हुने कुरा हुन्छ?’, पाेखरेलले भने, ‘नेपाली राजनीतिमा धेरै संघर्ष गरेको नेता हुनुहुन्छ। राजनीतिक घटनाक्रमभित्र भ्रम श्रृजना गर्न विभिन्न शक्ति लागिपरेका छन्। प्रायाेजित रुपमा विषयहरू बाहिर आएका छन्।’
माओवादीले विभागहरुमा नेताहरुलाई दिएको जिम्मेवारीका विषयमा भने श्रेष्ठ असन्तुष्ट नै भएको अर्का एक नेताको दाबी छ। ‘पार्टी विभागमा जिम्मेवारी दिनेक्रममा कतिपय विषय मिलेका छैनन्, त्यसमा मिलाउनु पर्ने छ,’ ती नेताले भने, ‘तर, त्यही विषयले नै पार्टी विभाजन गर्न खोजेको भन्ने विषयमा कुनै सत्यता छैन। त्यसमा ढुक्क हुँदा हुन्छ।’
विभागमा श्रेष्ठ निकट नेताहरुलाई कम स्पेस दिएका विषयमा भने उनीनिकट नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।