काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेका रिट निवेदन हेर्न नभ्याइनेमा परेका छन्।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध ओलीले दायर गरेका छुट्टा–छुट्टै रिटमाथि सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा पेसी तोकिएको थियो। तर, आइतबार पनि हेर्न नभ्याइनेमा परेपछि यी रिटमाथिको सुनुवाइ पुन: सरेको छ।
ओलीका रिटमाथि सुनुवाइको लागि यसअघि शुक्रबार पनि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको थियो। तर, शुक्रबार न्यायाधीश खड्का र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएकाले एकल इजलासको 'बेन्च बस्न नभ्याएको'मा परेको थियो।
पार्टीले निर्णय गरी कारबाहीका लागि सिफारिस गरेका १४ संघीय सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित नगरेको भन्दै ओलीले सभामुख सापकोटाविरुद्ध रिट दायर गरेका छन्।
यस्तै, लुम्बिनी प्रदेशका २ जना सांसदलाई पनि कारबाही गरिएको सूचना प्रकाशित नगरिएको भन्दै लुम्बिनीका सभामुखलाई विपक्षी बनाइएको छ।
एमाले विभाजन गरी नयाँ दल (नेकपा एकीकृत समाजवादी) गठन गर्दा एमालेले कारबाही सिफारिस गरेका १४ जनालाई सांसदको रुपमा सनाखतमा समावेश गराइएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।