काठमाडौं- हालै गठन भएको नेकपा एकीकृत समाजवादीको अन्तरिम अवधिका लागि बेदुराम भुसालले महासचिवको भूमिका निर्वाह गर्ने भएका छन्। यद्यपि, घोषित रुपमा सो जिम्मेवारी तोकिएको भने छैन।
गत शुक्रबार सो पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन – १ मा बेदुराम भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको छ। 'पार्टीको दैनिक कार्य सम्पादन गर्नका निम्ति कमरेड डा बेदुराम भुसालको संयोजकत्वमा कमरेडहरु प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहनुभएको सचिवालय गठन गरिएको छ,' अपानिमा भनिएको छ।
पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि यो लगायत अन्य जिम्मेवारी पनि तोकिएको छ। निकट समयमा राष्ट्रिय सम्मेलन आयोजना गरिने र राजनीतिक प्रतिवेदन र उपयुक्त दस्तावेजहरु परित गरिने तथा केन्द्रीय कमिटीलाई पूर्णता दिइने बताइएको छ।
सो पार्टीको अन्तरिम विधानमा सचिवालयको नेतृत्व महासचिवले गर्ने उल्लेख छ। विधानको धारा २८ (क) मा केन्द्रीय कमिटीले महासचिव, उपमहासचिव र सचिवहरु रहेको केन्द्रीय सचिवालय गठन गर्नेछ भन्ने उल्लेख छ। त्यस्तै, विधानको धारा २१ (ड) (१) मा महासचिवको अधिकार र कर्तव्य अन्तर्गत केन्द्रीय सचिवालय सञ्चालन गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।