काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको आलोचना गरेकी छन्।
ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश व्यक्त गरिन्।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमासमेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नुपरेको तर्क गरिन्। उनले भनिन्, ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्काएर लागिपरेको मान्छे आज एमसीसीको विरोध गर्दै छन्। त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद हो। कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दै छन्, मलाई सम्झना छ- ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो। भीम रावलको पोजिसन के थियो? कमरेड खड्गप्रसाद ओलीको पोजिसन के थियो? महाकाली सन्धिका बेला।’
नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणीसमेत गरिन्। उनले कम्युनिस्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटक-पटक दोहोर्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।