काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री हुनका लागि आफूलाई गाली गरेर निवेदन लेखेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एउटाको नजिक हुनका लागि अर्कोलाई गाली गर्ने गरिएको बताए।
गौतमको नाम नलिई ओलीले भने- 'अहिले त कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदन ब्यहोरामा तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन, विकास मात्रै गर्नुभयो, कुन्नी के जाति मात्रै गर्नुभयो। त्यसकारण तपाईंको पार्टी छोडेँ भन्दिए भयो।'
गौतमले शुक्रबार मात्रै ओलीको आलोचना गर्दै पार्टी कार्यालय पुगेर उपाध्यक्ष र पार्टी जिम्मेवारीबाट राजीनामा दिएका थिए। गौतम उपप्रधानमन्त्री बन्ने प्रयासमा रहेको केही अघिदेखि चर्चा हुँदै आएको थियो।
ओलीले उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर (गठबन्धन/प्रधानमन्त्री शेरबहादुर देउवा) भने हुने बताए। 'केपी शर्मा ओलीलाई गाली किन गर्ने? निवेदन एउटा कुरा छ। निवेदनको ब्यहोरा अर्कै छ। मान्छेले बुझ्नै गाह्रो पर्ने गरी', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।