काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालजस्तो 'लाज पचेको मान्छे' आफूले अहिलेसम्म नदेखेको दाबी गरेका छन्।
शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘माधव नेपालले प्रतिवेदन भनेर खै के निकालेका छन्। उनको जिम्मा नै एमालेको बदनाम गर्ने हो’, ओलीले भने, ‘उनी किन यतिसारो विद्रोही भए? कम्युनिष्ट भन्ने सुन्नै नहुने भए। अहिले त एस पार्टी रे।’
देशको विकास गरिरहेको पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लाग्ने नेपाल एमाले र कम्युनिष्ट विरोधी भएको ओलीको आरोप छ।
‘यति सारो लाज पचेको मान्छे, माधव नेपाल जस्तो मान्छे जिन्दगीमा मैले कहीँ देखेको छैन’ उनले भने ‘नेपालमा मात्र हैन विश्वमा देखेको छैन। अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यसैमा बन्चरो हानेको छ। जुन पिर्कामा बसेको हो त्यही भाँचेको छ।’
नेपालको पार्टी नचल्ने समेत ओलीको दाबी छ। ‘आजदेखि पाँच पार्टीको गठबन्धन भन्छन् नि माधव नेपालको कहाँ पार्टी थियो?’, उनले भने ‘माधव नेपाललाई नै पार्टी भनेको होला। अन्तिममा हुने त्यही हो माधव नेपाल पार्टी। त्यो एकीकृत नै रहन्छ। किनकी माधव नेपाल पार्टी हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।