काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिएका छन्।
उनले आज राजीनामा पार्टी कार्यालयमा बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले बताए।
'उहाँले एमालेको सबै पदबाट राजीनामा दिनुभएको छ,' उनले भने, 'आज साँझ पार्टी कार्यालयमा राजीनामा बुझाउनुभएको छ।'
यसअघि माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेलगत्तै उनले आफ्नो समर्थन रहने बताएका थिए। तर, नयाँ पार्टीले जनताको बहुदलीय जनवाद (जबज) विचार नबोक्ने भनेपछि असन्तुष्टि जनाएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेपछि उनी एमाले छाड्न तयार भएका थिए। उनी अब एकीकृत समाजवादी पार्टीमा जोडिने उनी निकट नेताहरुले बताएका छन्।
यसअघि तत्कालीन नेकपा दुई भागमा विभाजित भएपछि एकता अभियान भन्दै संगठित गर्न लागेका थिए। गत फागुन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले उपाध्यक्ष भए पनि त्यही पार्टी एकता अभियानलाई निरन्तरता दिएका थिए।
उनीनिकट १६ जनाभन्दा धेरै केन्द्रीय सदस्य भए पनि कहिले एमाले अध्यक्ष केपी ओलीतर्फ त कहिले नेपालतिर लाग्दा केन्द्रीय सदस्यहरु लाखापाखा लागेका थिए। हाल उनीनिकट केन्द्रीय सदस्य हरी पराजुली मात्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।