वैँशका फूलहरु फक्रन नपाउँदै
अर्को यामले पठाउँछ दुश्मनी बतास
स्नेहका बीजहरु नपाउँदै अंकुरण हुन
बेइमानी आकाशले खसालीदिन्छ अम्लीय वर्षा
फूल्दै गरेका फूलका पत्रहरु
निमोठिदिन्छन् कुरुप समयका हत्केलाहरुले
साहसको डुङ्गा चढेर कठिन यात्रामा निस्कनु पूर्व
आत्मविश्वासको लौरो टेकेर शिखरतर्फ उक्लिनु पूर्व
कतिखेर टेक्नु पर्छ धोकाको लेउमाथी
भइदिन्छ सपनाहरुको दुर्घटना
निकालेर विद्रोहको पहिलो आवाज
चालेर असहमतिको पहिलो कदम
उभिनु पर्छ एक्लै भए पनि बर्बरताविरुद्ध
चल्ने पाइलाहरुलाई नरोक
निस्कन खोज्ने आवाजलाई निस्कन देउ
आफूमाथिको उर्जालाई संचय गर
समयको दुश्चक्रलाई बुझ
आँखामा लालच बोकेर हिड्नेहरुबाट
आफूलाई छुट्याउ
आफ्नै विरोधसम्म गर्न पछि नपर्नेलाई
छोड्दै जाउ
तिम्रो यात्रामा आउने कठिनाइहरु
तिम्रा असल मित्र हुन्
पन्छाएर होइन
जितेर अघि बढ
सिकेर अघि बढ
यति बेला तिमी बहुत समीप छौ आफ्नो
एकपल्ट आफैँलाई छोउ, सुम्सुम्याउ
तिमी अझै ब्युँझिएनौ भने
आफूलाई केही बेर मात्र सम्हाल
कि तिमी सपनाको करिब छौ!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।