काठमाडौं– बृहत् नागरिक आन्दोलनले सरकार कूटनीतिक पहलमा असफल हुँदै गएको टिप्पणी गरेको छ। भारतीय सुरक्षाकर्मीका कारण महाकाली नदीमा खसेका दार्चुलाका जयसिंह धामीमाथिको 'जघन्य अपराध'उपर भारतसँग जवाफ माग्ने कार्यमा सरकार चुकेको नागरिक आन्दोलनको निचोड छ।
बृहत् नागरिक आन्दोलनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई दण्डित गराउने र सीमामा नेपालीको सुरक्षा सुनिश्चित गराउने कर्तव्यमा सरकार शिथिल रहनु आपत्तिजनक भएको जनाएको छ।
हुम्ला सीमामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको अध्ययन गर्न कार्यदल बनाएको औपचारिक घोषणा कूटनीतिक कौशलता नभएको नागरिक आन्दोलनको बुझाइ छ। बृहत् नागरिक आन्दोलनले कूटनीतिमा आवश्यक कौशललाई सरकारले वेवास्ता गरेको मात्र नभइ छिमेकीहरूसँगको सम्बन्धलाई विषयको संवेदनशिलता भन्दा रणनीतिक बनाउन खोजको पनि टिप्पणी गरेको छ।
अमेरिकी सहायता परियोजना (एमसीसी)को विवादमा राष्ट्रिय बहस र सहमतिभन्दा बलमिच्याइ र ध्रुबिकरण निम्त्याएर अपरिपक्वता प्रकट भएको विज्ञप्तिमा उल्लेख छ। विदेश सम्बन्धलाई अविश्वसनीय बनाइ देशभित्र अनावश्यक विवाद सिर्जना गरी राष्ट्रका प्रमुख संकटहरू सम्बोधन गर्नबाट सरकार चुकेको बृहत् नागरिक आन्दोलनको निष्कर्ष छ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नु सरकारी अकर्मण्यता भएको पनि विज्ञप्तिमार्फत टिप्पणी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।