काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन्।
तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै ज्ञवालीले जनादेशको माध्यामबाट फेरि एमाले सरकारमा फर्कने बताए।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।
‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ। अवको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ। ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरि फर्कने छौं, हामी सरकारमा,’ ज्ञवालीले भने, ‘परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ। जनताको मायाबाट हामी फेरि फर्कनेछौं र देशलाई ‘समृद नेपालः सुखी नेपाली’को राष्ट्रिय अभियानमा अघि बढाउनेछौं।’
ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।