काठमाडौं– नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको प्रवक्ता प्रदीपकुमार ज्ञवाली नै भएको बताएका छन्। एमालेको प्रचार विभाग प्रमुख र प्रवक्ता दुबैमा ज्ञवाली भएकाले सचिव योगेशकुमार भट्टराईलाई तत्काल कुनै जिम्मेवारी नदिइएको तामाङको भनाइ छ।
‘पार्टीको निर्णय वा अध्यक्ष (केपी शर्मा ओली)ले हस्ताक्षर गरेर योगेश कमरेडलाई दिम्मेवारी दिइएको छैन। पार्टीले प्रदीप कमरेडलाई प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको छ,’ नेपाल लाईभसंग कुरा गर्दै तामाङले भने, ‘यो भदौको २७/२८ गते केन्द्रीय कमिटी बैठक बस्दै छ । त्यसबाट केही निर्णय आउन सक्छ। नभएमा एमाले प्रचार विभागको जिम्मेवारीमा कुनै फेरबदल भएको छैन।’
एमालेको आन्तरिक विवादका बेला माधव कुमार नेपालको पक्षमा रहेर विभाजनका बेला 'पार्टी एकता' रोजेका तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरी पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने बताउँदै आएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै तेस्रो धारका नेताहरु असन्तुष्ट हुन थालेका छन्। २०७५ जेठ २ गते अगाडि एमाले प्रचार विभाग प्रमुख तथा प्रवक्तामा योगेश भट्टराई नै थिए।
१० बुँदे सहमति कार्यान्वयन हुँदा सहमतिअनुसार पार्टी प्रचार विभाग र प्रवक्ताको जिम्मेवारी भट्टराईले नै पाउने अपेक्षा गरिएको थियो। तर, बिहीबार ज्ञवालीको नाममा प्रवक्ताको विज्ञप्ति जारी भएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।