काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले सल्लाहकार समितिको बैठक बोलाएको छ। बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका बारेमा छलफल गर्न बारले आइतबारका लागि सल्लाहकार समितिको बैठक बोलाएको महासचिव लिलामणि पौडेलले जानकारी दिए।
‘सर्वोच्चको विकृति विसंगतिबारे न्यायालयको प्रतिवेदन र पछिल्लो समयमा भएका आदेशका बारेमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले नेपाल लाइभसँग भने, ‘अदालतका अन्य विषयमा पनि सल्लाहकार समितिको बैठकमा गहन छलफल हुन्छ।’
उनले उपत्यकाका बारका अध्यक्ष एवं पूर्वपदाधिकारीहरू, वरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता लगायतलाई बैठकमा बोलाइएको जानकारी दिए। महत्त्वपूर्ण निर्णय लिनुअघि बारले सल्लाहकार समितिको बैठक बोलाउने गर्दछ।
आइतबारको बैठक मुख्य रुपमा बिहीबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषय टुंगो नलागेसम्म अघि नबढाउन दिएको आदेशका विषयमा नै केन्द्रित रहने बताइएको छ। अघिल्लो शुक्रबार बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफू इजलासमा नबस्ने मौखिक रुपमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।