काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नव गठित नेकपा एकीकृत समाजवादीमा समावेश हुन जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्त मान्नुपर्ने र संघीयता परिमार्जन गर्नुपर्नेलगायत शर्त राखेका छन्।
बिहीबार आफू निकट नेताहरु हरिप्रसाद पराजुली र केशवलाल श्रेष्ठलाई साथमा राखेर उपाध्यक्ष गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।
‘वामदेव गौतम एकीकृत समाजवादीमा सामेल हुने सन्दर्भमा लामो समयदेखि छलफल चलिरहेको छ,’ नेता श्रेष्ठले भने, ‘त्यही विषयमा छलफल भएको हो।’ गौतमले सुरु गरेको एकता अभियानमा सहभागी भएका नेता कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा पनि कुराकानी भएको उनले जानकारी दिए।
अध्यक्ष नेपालले गौतमले राखेका शर्तका बारेमा आवश्यक छलफल अघि बढाउन सकिने जवाफ दिएका छन्।
बिहीबार संसदीय दलको नेताको रुपमा पदभार गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले वामदेव गौतमसँग संवाद भइरहेको बताएका थिए। उनले जबज छोडेको भन्ने विषयमा कु–प्रचार गरिएको बताएका थिए।
एकीकृत समाजवादी पार्टीले जबजको मार्गदर्शन सिद्धान्तलाई अघि बढाएर लैजान नसक्ने भन्ने विषय अघि सारेपछि एमाले उपाध्यक्ष गौतम असन्तुष्ट बनेका थिए। उनले जबज छाडेर एकीकृत समाजवादीमा लाग्न नसक्ने प्रष्ट पारिसकेका छन्।
उनले विज्ञप्ति नै जारी गरेर माधव नेपाल नेतृत्वको समाजवादीमा पनि नजाने र ओलीसँग पनि नमिल्ने बताएका थिए। आफूले राखेका शर्तहरु पूरा भएमा एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकीकृत समाजवादीमा लाग्ने उनले बताइसकेका छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।