काठमाडौं- विवेकशील साझा पार्टीले अवैध र समानान्तर गतिविधि नरोके कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीबार अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो।
‘अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टीहित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ,’ निर्णयमा भनिएको छ,‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।’
यस्तै, बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेतसमेत गराएको छ। आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।
पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।