काठमाडौं– प्रदेश नम्बर २ मा नेकपा एमालेका २१ जना प्रदेश सभा सदस्य (सांसद)मध्ये ११ जना नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन्। समाजवादीमा खुलेकामध्ये १० जनाले सनाखत नै गराइसकेका छन् भने १ जना उपचारको लागि भारतको नयाँ दिल्लीमा भएकाले उनको सनाखत हुन बाँकी छ।
एमालेको आन्तरिक विवादमा माधव कुमार नेपाल पक्षमा रहेका २ जना सांसद भने एमालेमै रहने भएका छन्। सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेपालको साथ छाडेर एमालेमै बस्ने भएका हुन्।
एकीकृत समाजवादीमा खुलिसकेका दिल्लीबहादुर उप्रेती दिल्लीमा उपचार गइरारहेकाले उनको सनाखत भएको छैन। 'आन्तरिक विवाद हुँदा १३ जना सांसद नेपाल समूहमा थियौं। १० जनाले हिजो (बुधबार) नै एकीकृत समाजवादी रोजेको भनेर सनाखत गरिसकेका छौं। दिल्लीबहादुर उप्रेती बिरामी भएकाले दिल्लीमा उपचार गराइरहनु भएको छ। उहाँले एकीकृत समाजवादीमै लाग्ने भन्नुभएको छ,' एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका प्रदेश सांसद अशोक कुमार यादवले नेपाल लाइभसँग भने।
पहिले आफूहरुको पक्षमा भएपनि २ जना सांसदहरु सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ अन्तिममा एमालेमै फर्किएको यादवले बताए। 'हामीसँगै रहनुभएका २ जना सांसदहरु सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ सनाखतमा आउनुभएन। सायद उहाँहरु एमालेमै बस्नु भयो होला,’ यादवले भने।
विश्वकर्मा र गुरुङ एमालेमै बस्ने भन्दै दलको बैठकमा समेत सहभागी भएका छन्। दिल्लीमा उपचार गराइरहेका उप्रेतीले पनि सनाखत गराएमा नेकपा एमालेबाट निर्वाचित भएकामध्ये एकीकृत समाजवादीमा बहुमत सांसदको संख्या जुट्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।