काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्।
बिहीबार साँझ डल्लुस्थित निजी निवासमा पुगेर देउवाले खनालसँग भेट गरेका हुन्। भेटका क्रममा देउवाले खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका जनाइएको छ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत खनालसँग भेट भएको जानकारी दिएका छन्। प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्यमा निको सुधार भएको पनि बताएका छन्।
'पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए। उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु,' देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी केही दिन अगाडि स्वदेश फर्किएका नेता खनाल अहिले घरमै बसेर स्वास्थलाभ गरिरहेका छन्।
दिल्लीबाट फर्किएपछि नेता खनाललाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुले पनि भेटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।