काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई सरकारले 'थामथुम' गर्न खोजेको भन्दै आपत्ति जनाएको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर तयार पारिएको प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको एमालेको आरोप छ।
'आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,' एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको छ।

गत साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिकाका धामी भारतीय बाटो भएर सदरमुकाम आउन खोज्दा महाकाली नदी तर्ने क्रममा तुइनको लठ्ठासहित महाकाली नदीमा बगेका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा बगेका बताएका थिए।
घटनाको विषयमा छानबिन गर्ने भनेर गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले गृह मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भारतीय सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको देखिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।