काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरुले पार्टीको १४औं महाधिवेशनमा आफूहरुको तर्फबाट सभापतिमा एउटा मात्रै उम्मेदवार हुने बताएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समेतको उपस्थितिमा पत्रकार सम्मेलन गरी संस्थापन इतर पक्षबाट एउटा मात्रै साझा उम्मेदवार हुने घोषणा गरिएको हो।
वडातहको अधिवेशन सुरु हुनु एकदिन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
नेताहरुको तर्फबाट बोल्दै पौडेलले भने, ‘हामी एउटै सभापतिको उम्मेदवार दिएर अगाडि बढ्छौं। देशभरिका साथीहरुलाई यसकुरामा आश्वस्त पार्न चाहन्छौं।’
आफूहरु एकताबद्ध भएर पार्टी बचाउनका लागि र आफ्नो अस्तित्व जोगाउनका लागि अघि बढ्ने पनि पौडेलले बताए। ‘१४औं महाधिवेशनको अन्तिम अवस्थासम्म एकता कायम रहने अपिल गर्छौं,’ उनले भने, ‘सबैको सल्लाहले एउटा सभापतिको उम्मेदवार दिन्छौं।’
कार्यक्रममा संस्थापनइतरका सभापतिका आकांक्षीहरु वरिष्ठ नेता पौडेलका साथै महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।