काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारमा अरु केही दिन लाग्ने संकेत गरेका छन्। उनले २२/२३ गतेसम्म कसैले यस बारेमा 'चुँइक्क' नबोल्ने बताए।
'२२/२३ गतेसम्म त कसैले चुँइक्क पनि बोल्दैन। त्यसकारण यसबारेमा अहिले कुनै चर्चा हुँदैन। यसमा निम्ति उपयुक्त समयमा छलफल गर्नेछौं', बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले भने।
नेपालले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल नभएको पनि बताए।
उनले पार्टी रोज्नका लागि भइरहेको सनाखत गर्ने क्रम राम्रो रहेको बताए। 'जुन किसिमको प्रयत्न केपी ओली र उहाँका मान्छेहरुले गरिरहेका छन्, भ्रम पैदा गर्ने काम गरिरहेका छन्। भ्रममा पर्नु जरुरी छैन। १० बुँदेको भ्रममा पनि पर्नु जरुरी छैन', उनले भने।
नेपालले एमालेको विवाद समाधानको लागि भन्दै गत असार २७ गते राति गरिएको १० बुँदे सहमतिलाई अदालतको फैसला प्रभावित पार्ने कुनियत भएको बताए।
'१० बुँदे २७ गते राति १० बजे सही नगरी नहुने के बाध्यता थियो? थाहा छ?', उनले प्रश्न गर्दै भने, '२८ गतेको सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने कुनियत लुकेको थियो। १० बुँदे भित्रको नियत के थियो भन्ने कुरा त्यसैले प्रष्ट पार्दैन? नभए १० बजे राति हस्ताक्षर गर्नका लागि हतार किन? जबकि त्यो अधुरो छ भन्ने कुरा सबैले भनिरहेका छन्। त्यहाँ दुइटा नेताको सहमतिको कुनै पनि कुरा छैन। चर्चै छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।