काठमाडौं– वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टी एकता भएको नौ महिनामै विभाजन उन्मुख अवस्थामा पुगेको छ।गत मंसिर २४ गते रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र मिलन पाण्डे नेतृत्वको विवेकशील नेपाली दलबीच एकता भएको थियो।
एकता भएपछि मिश्रलाई अध्यक्ष र पाण्डेलाई संयोजक बनाएर विवेकशील साझा पार्टी बनाइएको थियो। पार्टी एकतालाई पूर्णता दिन नपाउँदै दुबैपक्षले आ–आफ्नो केन्द्रीय समिति बोलाएर बिहीबार छलफल गर्न लागेका हुन्।
संयुक्त बैठक बोलाउने विषयमा सहमति हुन नसकेपछि पाण्डे पक्षको बिहान साढे ११ बजेदेखि र मिश्र पक्षको साढे १२ बजेदेखि केन्द्रीय समिति बैठक भर्चुअल रुपमा चलिरहेको छ।
गत साउन ११ गते मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता विषयमा जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पार्टीभित्र विवाद चर्किएको हो। मिश्रको काउन्टरमा पाण्डेसहित चार नेताले प्रस्ताव ल्याएपछि एउटै ठाउँमा बैठक बस्न नसेक्ने अवस्थामा पुगेका हुन्।
पाण्डे सहित चार नेताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताका विषयमा आफ्नो पार्टीको अडान यथावत् भएको प्रष्टीकरण दिएका थिए।
त्यहीँ विषयमा एकपछि अर्को गर्दै विवाद बढ्दै गएपछि विवेकशील साझा पार्टी विभाजन उन्मुख अवस्थामा पुगेको हो। मिश्रले पश्चगामी अजेण्डा पार्टीलाई हिँडाउन खोजेको भन्दै पाण्डेपक्षले आफ्नो पक्षको केन्द्रीय समितिमा छलफल गरिरहेका छन्। केन्द्रीय समिति बैठकमा छलफल भएपछि एउटा निर्णयमा पुगिने नेता रञ्जु दर्शनाले बताइन्।
यसअघि २०७५ पुस २७ मा विवेकशील र साझा पार्टी फुटेको थियो। त्यसबेला विवेकशील साझाका नेता उज्जवल थापाले रवीन्द्र मिश्रले एक्लौटी ढंगले पार्टी चलाएको आरोप लगाएका थिए।
पार्टी फुट्नु अघि उनीहरुले १६ महिनाअघि मात्रै दुई पार्टीबीच एकता भएको थियो। अब विवेकशील साझा पार्टी फुटेमा यो दोस्रो पटक हुने भएको छ। यसरी उनीहरु फुट्दै जुटदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।