काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन्।
उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका हुन् भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिए।
मन्त्री खाणले प्राकृत्तिक बिपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए। र अहिलेसम्मको अवस्थाबारे जानकारी लिए।
उनले अहिलेसम्मको कामको प्रशंशा गर्दै अब त्यो भन्दा राम्रो काम हुने आशा व्यक्त गरे।
तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीले टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ११ मा मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले जानकारी दिए। ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको वडा नम्बर २० र ११ मा गएको पहिरोमा परी पाँच जनाको निधन भएको जानकारी दिए। एक जना बेपत्ता भएका छन्।
पहिरोले पुर्दा ढलानका दम्पत्ति कृष्ण श्रेष्ठ र सुन्तली तामाङको निधन भएको गौतमले जानकारी दिए। उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन्। त्यस्तै महानगरपालिकाकै वडा नं ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, अन्दाजी ४० वर्षीय विष्णु सार्की र उनका नाम नखुलेका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ।
दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा बिमला केसी घोराही उपमहानगरपालिका १५का बिमला केसी र राधा कुँवर तथा घोराही उपमहानगर पालिका १३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। कारका चालक नरबहादुर पुन घाइते छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।