काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ।
पार्टी कार्यालय सानेपामा २ बजे आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा पार्टीको १४ औं महाधिवेशन आफूहरुको समूह एकताबद्ध हुने सन्देश प्रवाह गर्न लागिएको एक नेताले बताए।
महाधिवेशनमा आफ्नो समूहबाट सभापतिका लागि एकल उम्मेदवार तय गर्न लगातार बैठकमा बसेपनि सहमति जुट्न नसकिरहँदा पौडेल समूहले आफूहरु एकताबद्ध हुने सन्देश कार्यकर्तामा दिन खोजेको हो।
पौडेल समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन्।
यसअघि बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा सभापतिमा दाबी गर्ने प्रकाशमान सिंहबाहेक अन्य नेताहरु सहभागी भएका थिए।
पौडेलसहित शशांक, शेखर, सुजाता, रामशरण महत, अर्जुननरसिंह केसी बैठकमा उपस्थित थिए। सभापतिमा दाबी नगरेका तर एकल उम्मेदवार बनाउन पहल गरिरहेका बलबहादुर केसी पनि बैठकमा सहभागी भएका थिए। नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिनेगरी वार्ता भएको बताइकी थिइन्।
उनले आफूहरु महाधिवेशनमा एक भएर जाने दाबी गरिन्। अर्का नेता बलबहादुर केसीले केही दिनमा आफूहरुको पक्षमा सकारात्मक परिणाम आउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।