काठमाडौं- नेपाली कांग्रेसका नेता कल्याण गुरुङले जितनजिक रहेर सभापतिको दाबी गरेको बताएका छन्। आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा गुरुङले जित्नसक्ने भएकाले नै अघि बढेको दाबी गरे।
देशभरको आफ्नो जिल्ला भ्रमणपश्चात् कार्यकर्ताको शुभेच्छा आफूलाई रहेको उनले बताए। देशभित्र र बाहिरबाट कांग्रेस शुभेच्छुकको आडमा महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेको उनले बताए। वर्षौंदेखि उही नेतृत्व रहँदा कार्यकर्तामा वितृष्णा जागेको उनको ठहर छ। ‘कांग्रेस सत्तामा हुँदा पाँच वर्ष टिकाउन सकिरहेको छैन। परिवर्तनको आशा पूरा गर्न नसक्दा जनतामा निराशा आइरहेको छ,’ उनले भने, ‘२०४८ सालमा जो नेतृत्वमा हुनुहुन्थ्यो, अहिले पनि उहाँहरु नै नेतृत्वमा हुनुहुन्छ।’
८० प्रतिशत क्रियाशील सदस्य वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेको उनको बुझाइ छ। साथै, कार्यसम्पादन समितिमा बसेर टिकट बाँड्ने नेताहरुमा कार्यकताको वितृष्णा रहेको उनको बुझाइ छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यसम्पादनमा रहेका शीर्ष तहका नेताप्रति कार्यकर्तामा निराशा रहेकाले आफ्नो जित निश्चित रहेको उनले दाबी गरे।
शासन व्यवस्थामा परिवर्तन भए पनि नेतृत्वको सोचमा परिवर्तन आउन नसकेको उनको बुझाइ छ। पुरानो पुस्ता असफल भएको निष्कर्ष निकालेका गुरुङले नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको बताए।
युवा पुस्ताले मूल नेतृत्वमा दाबी गर्न नसकेकोप्रति उनले आफ्नो उमेर समूहका नेतालाई हिम्मत जुटाउन सुझाव दिए। ‘६० वर्षभन्दा माथिका १० उम्मेदवार सभापतिमा दाबी गर्दा त्यस मुनिको २० जना दाबेदार हुनुपर्ने हो,’ युवा पुस्ताले आँट नगरेकोप्रति उनले भने, ‘बीपी ३९ वर्षमै भापति हुनुभएको थियो। ४६ वर्षको उमेरमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो।’ विगतमा युवाले नेतृत्व गरेको कांग्रेसमा अब पनि नेतृत्व गर्नसक्ने बताउँदै गुरुङले भने, ‘युवा पुस्ता कांग्रेसको नेतृत्व गर्न सक्षम छ।’
२२ जना युवा पुस्ताका नेतालाई पुनः केन्द्रीय सदस्यमा नउठ्न आग्रह उनको छ। उनले भने, ‘युवा पुस्ताका २२ जना केन्द्रीय सदस्य सभापति वा पदाधिकारीमा उम्मेदवार हुँदा नयाँ पुस्ताका थप २२ केन्द्रीय सदस्यले ठाउँ पाउँछन्।’
सभापतिमा विजयी हुनेमा ढुक्क देखिएका गुरुङले त्यसपछिका योजना पनि सुनाए। सभापतिमा विजयी भएको अवस्थामा समावेशी पार्टी बनाउने प्रतिबद्धता उनले जनाए। पार्टीमा सबैलाई न्याय प्रदान गर्ने उनको भनाइ छ। सभापति निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्यको फेहरिस्त सुनाउँदै गुरुङले भने,‘समानुपातिक सांसद एक पटक मात्रै हुने व्यवस्था गर्नेछु। दुई पटकभन्दा बढी प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्नेछु।’
५० प्रतिशत स्थानीय तहमा महिला प्रमुख हुनैपर्ने व्यवस्था गर्ने, एक पटक सभामुख पुरुष भए अर्को पटक महिला सभामुख हुने व्यवस्थाका लागि पहल गर्ने उनले बताए। ‘क्रियाशील सदस्य सबैले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था विधानमा राख्नेछु,’ सभापति भएको अवस्थामा गर्ने कार्यबारे उनले भने, ‘सम्पत्ति विवरण नबुझाए क्रियाशील सदस्यता खारेज हुनेछ।’
गुटबन्दी अन्त्य गर्ने, भ्रातृ संस्थाले विधानअनुसार महाधिवेशन गर्न नसके नयाँ कार्यसमितिका लागि निर्वाचन गराउने तथा सभापति भइसकेपछि पार्टीलाई गुटविहीन बनाउनेलगायत प्रतिबद्धता उनले व्यक्त गरे। साथै, शिक्षा अनिवार्य र निःशुल्क बनाउन पहल गर्नेसमेत उनको भनाइ छ। ‘निजी अस्पताललाई राष्ट्रियकरण गर्छु। सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउँछु,’ गुरुङले भने, ‘सबै स्थानीय तहमा बर्थिङ सेन्टर र ब्लड बैंक स्थापना गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।