काठमाडौं– एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको पार्टी, नेकपा (एकीकृत समाजवादी) दर्ता हुनुअघि बागमती प्रदेशका १३ जिल्लाका धेरै सांसद र जनप्रतिनिधिले उनलाई साथ दिने अनुमान गरिएको थियो।
एमालेमा रहँदा नेपाल पक्षको राम्रो प्रभाव रहेको बागमती प्रदेशका धेरै सांसद, प्रदेश सभा सदस्य, जनप्रतिनिधिले साथ दिने आकलन गरिएपनि निर्वाचन आयोगमा नेता नेपालले नयाँ दल दर्ता गरेपछि हालसम्म ठूलो संख्यामा नेता, कार्यकर्ता नेकपा एकीकृत समाजवादीतिर खुलेको घोषणा भएको छैन।
कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर कमिटी बनाउने नेतृत्व गरेकी अष्टलक्ष्मी शाक्य अहिले बागमती प्रदेशको मुख्यमन्त्री हुँदै एमालेमै बसेकी छन्। उनी एमालेतिर खुलेपछि समाजवादीलाई धक्का लागेको छ।
बागमतीका १३ मध्ये दुईवटा जिल्लाका अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेका छन्। एमाले छाडेर एकीकृत समाजवादी रोज्नेमा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल र काभ्रेपलाञ्चोकका अध्यक्ष टोपबहादुर वाइबा मात्र छन्। नेपालले काठमाडौंमा समानान्तर कमिटीको अध्यक्ष बनाएका वसन्त मानन्धर नेतृत्वको कमिटी भने समाजवादीमा गाभिएको छ।
काठमाडौंका अध्यक्ष कृष्ण राई, ललितपुरका हरिकृष्ण व्यञ्जनकार, भक्तपुरका वचन देउजा, सिन्धुपाल्चोकका झम्क नेपाल, धादिङका भूमि त्रिपाठी, नुवाकोटका नारायण खतिवडा, रसुवाका कर्न्याल लामा, सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्ति पौडेल, दोलखाका हरिश्चन्द्र पोखरेल र चितवनका कृष्णभक्त पोखरेल एमालेमै रहेका छन्।
एमालेबाट ५६ सदस्य रहेको प्रदेश सभामा अहिलेसम्म १२ सदस्यले एकीकृत समाजवादी रोजेका छन्। आठ जिल्लाका यी सांसदहरुको प्रभाव स्थानीय तहहरुमा पर्छ कि पर्दैन भन्ने केही दिनमा प्रष्ट हुनेछ।
बागमतीमा एमाले प्रदेश सभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले एकीकृत समाजवादी रोजेका हुन्। एकीकृत समाजवादी रोजेसँगै सामाजिक विकासमन्त्री खनालले राजीनामा दिएका छन्।
यससँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। उनीसँग अब ४४ सांसदमात्र छन्। एकीकृत समाजवादीमा लाग्नेमा काठमाडौं, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, ललितपुर र भक्तपुरका प्रदेश सभा सदस्य छन्।
एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै बागमती प्रदेश सरकारको समीकरण पनि फेरिने देखिएको छ। शाक्यसँग विश्वासको मत लिने वा त्यसअघि नै राजीनामा दिने दुई विकल्प देखिन्छ। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्ने छ। उक्त अवधिभित्र शाक्यले विश्वासको मत पाउने सम्भावना नभएकाले राजीनामा दिएर सत्ताबाट बाहिरिने विकल्प उनले रोज्न सक्छिन्।
एमाले छाडेर समाजवादीतिर खुलेका मानन्धरले बागमती प्रदेशमा २० सांसद आफूहरुतिर आउने दाबी गरे। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र अरुण नेपालबाहेक तत्कालीन समयमा विद्रोह गरेका एमालेका प्रदेश सांसद आफूतिर लाग्ने अनुमान पार्टीले गरेको उनले बताए।
त्यस्तै, प्रदेश सभा सदस्य एवं मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले मंगलबारबाट सनाखत सुरु भएको र २२ गतेसम्म समय भएकाले एकीकृत समाजवादीमा खुल्ने प्रदेश सभा सदस्यको संख्या बढ्ने दाबी गरिन्।
हाल १२ जना खुलेको र कतिपय सांसदहरु बिरामी हुनुका साथै आफ्नो जिल्लातिर रहेकाले यो संख्या अवधि सकिँदा थप हुने उनको भनाइ छ। प्रदेशमा गठन भएका समानान्तर कमिटी सबै एकीकृत समाजवादीमा आउने उनको दाबी छ।
‘अझै दल रोज्ने समय बाँकी भएकाले यो पार्टीमा यति छन् भनेर एकिन गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘हाम्रो संगठन पनि बलियो छ, त्यो कुरा राष्ट्रिय सभाको निर्वाचनले समेत यसअघि देखाएको छ।’ स्थानीय तहहरुमा भने अहिलेसम्म कुनै पनि जिल्लाका पदाधिकारी नखुलेको उनले बताइन्। ‘पर्सि पार्टीको वैठक छ, त्यसपछि स्थानीय तहका पदाधिकारीहरु खुल्नेछन्,’ उनले भनिन्, ‘अघिल्लो पटक समानान्तर कमिटीमा रहेका र ओलीको विपक्षमा उभिएकाहरु हाम्रो पार्टीमा सहभागी हुनुहुनेछ।’
बागमती प्रदेशका जिल्लाका एमाले पार्टी कमिटी पदाधिकारी पनि स्पष्ट भएका छैनन्। जिल्ला सचिव, संगठन विभाग प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू अझै कता जाने भन्ने यकिन नभएको उनले बताइन्।
रामेछाप
रामेछापमा आठ स्थानीय तह छन्। २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा एमालेले ५ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख जितेको थियो। रामेछापमा एमालेले प्रदेश सभामा २ सदस्य जितेको छ।
शान्तिप्रसाद पौडेल र कैलाशप्रसाद ढुङ्गेल प्रदेश सभा सदस्य छन्।
मन्थली नगरपालिकामा प्रमुख रमेशकुमार बस्नेत र उपप्रमुख मायाकुमारी कार्की छन्। त्यस्तै उमाकुण्ड गाउँपालिकामा अध्यक्ष शेरबहादुर सुनुवार एमालेबाट निर्वाचित हुन्।
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तमाङ र उपाध्यक्ष मखमली श्रेष्ठ दुवै एमालेबाट निर्वाचित भएका थिए। यसैगरि, गोकुलगङगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठले जितेका थिए। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र उपाध्यक्ष दिपशिखा न्यौपाने एमालेबाट विजयी भएका थिए। उनीहरु कोही पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छैनन्।
काभ्रेपलान्चोक
काभ्रेपलान्चोकमा १३ स्थानीय तह छन्। ६ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलान्चोकमा एमालले सात स्थानीय तहमा प्रमुख जितेको छ भने उपप्रमुख पनि सातै स्थानीय तहमा जितेको छ। काभ्रेमा तीन प्रदेश सभा सदस्यमा एमाले विजयी भएको थियो। चन्दबहादुर लामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले प्रदेश सभामा जितेका थिए। काभ्रेका दुई प्रदेश सांसदहरु हुमागाई र लम्साल एकीकृत समाजवादीतिर लागेका छन्।
धुलिखेल नगरपालिका प्रमुख अशोककुमार बेञ्जु, उपप्रमुख विमलाकुमारी चौलागाई पनि एमालेबाट निर्वाचित हुन्।
नमोवुद्ध नगरपालिका प्रमुख टंकप्रसाद शर्मा र उपप्रमुख रामदेवी तामाङ तथा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर तामाङ, उपप्रमुख निर्मला शाही एमालेबाटी निर्वाचित हुन्। पनौती नगरपालिका प्रमुख भीम न्यौपाने र उपप्रमुख गिता वञ्जरा एमालेबाट विजयी भएका थिए।
बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा सापकोटा, खानीखोला प्रमुख कृष्णबहादुर खुलाल र उपप्रमुख रुकमेणी गुरुङ एमालेबाट विजयी हुन्।
भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँबर र उपाध्यक्ष कल्पनाकुमारी श्रेष्ठ पनि एमालेबाट निर्वाचित हुन्। उनीहरुमध्ये अहिलेसम्म कसैले पनि औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) रोजेका छैनन्।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन्। तीमध्ये ७ वटामा एमालेले जितेको छ। प्रदेश सभामा एमालेले २ सदस्य जितेको छ। एमालेबाट अरुण नेपाल र सरेश नेपाल प्रदेश सभा सदस्य रहेका छन्। त्यस्तै, समानुपातिकतर्फकी प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङ एमाले त्यागेर एकीकृत समाजवादीतिर लागेकी छन्।
मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपाल एमालेबाट विजयी भएका थिए।
बाह्रविसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा र उपप्रमुख शुसिला पाख्रिन तथा जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र उपाध्यक्ष सृजना तामाङ एमालेबाट विजयी भएका थिए। पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले एमालेबाट जित्दा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमला श्रेष्ठ एमालेबाट विजयी भएका थिए।
लिसंखुपाखरको अध्यक्ष कमलप्रसाद नेपाल र उपाध्यक्ष हेमगंगा मोक्तान तथा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र उपप्रमुख दुर्गादेवी नेपाल एमालेबाट निर्वाचित हुन्। उनीहरुमध्ये मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपालले मात्र एकीकृत समाजवादी रोजेकी छन्।
दोलखा
९ वटा स्थानीय तह रहेको दोलखामा एमालले सात स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो। प्रदेश सभामा एक सांसद जिते पनि उनको कोभिड–१९ का कारण मृत्यु भएपछि रिक्त रहेको छ।
जिरी नगरपालिका प्रमुख टंकबहादुर जिरेल र उपप्रमुख कृष्णमाया वुढाथोकी एमालेबाट विजयी भएका थिए। भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसी र उपप्रमुख कमला बस्नेत तथा कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक एमालेबाट निर्वाचित हुन्।
गौरीशंकर गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का र उपाध्यक्ष उर्मिला थामी, तामाकोशी गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला खड्का, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ र उपाध्यक्ष कल्पना भण्डारी तथा शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योञ्जन एमालेबाट विजयी भएका हुन्। एमालेबाट विजयी दोलखाका स्थानीय तहका प्रतिनिधिमध्ये अहिलेसम्म कोही पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छैनन्।
सिन्धुली
सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिकामध्ये एमालेबाट ३ प्रमुख र चार उपप्रमुख विजयी भएका थिए। चार प्रदेश सभा रहेको सिन्धुलीमा २ जना सदस्य एमालेले जितेको थियो। प्रदिपकुमार कटुवाल र विनोदकुमार खड्का प्रदेश सभामा विजयी भएका थिए।
कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटा, दुधौली नगरपालिका प्रमुख घनश्याम राउत र उपप्रमुख बालकुमारी अधिकारी तथा फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्की र उपप्रमुख पार्वती सुनुवार एमालेबाट विजयी भएका थिए।
तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङ पनि एमालेबाट विजयी भएकी थिइन्। सिन्धुलीमा एमालेबाट विजयी कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादीमा औपचारिक रुपमा खुलेका छैनन्।
नुवाकोट
१२ स्थानीय तह रहेको नुवाकोटमा एमालले तीन वटा स्थानीय तहमा प्रमुख र तीन वटामा उपप्रमुख जितेको थियो। चार प्रदेश सभा रहेको उक्त क्षेत्रमा बद्री मैनाली र केशवराज पाण्डे प्रदेश सभामा विजयी भएका थिए।
बेलकोटगढी प्रमुख राजेन्द्ररमण खनाल, विदुर नगरपालिका प्रमुखमा सञ्जु पण्डित तथा उपप्रमुख गिताकुमारी दाहाल एमालेबाट विजयी भएका थिए। तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर बस्ती र उपाध्यक्ष तारादेवी रिमाल, लिखु गाउँपालिका उपाध्यक्ष रोजिना राई एमालेबाट विजयी भएका थिए। नुवाकोटमा पनि स्थानीय तहका प्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेको औपचारिक घोषणा गरेका छैनन्।
रसुवा
पाँच स्थानीय तह रहेको रसुवामा एमालले २ स्थानीय तहमा प्रमुख र ५ उपप्रमुख जितेको थियो। प्रदेश सभामा एमालेवाट कर्न्याल तामाङले मात्र जितेका थिए।
कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल र उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र उपाध्यक्ष कार ग्याल्मु श्रेष्ठ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामा र पार्वतीकुण्ड गाउँपालिका उपाध्यक्ष नविना तामाङ एमालेबाट विजयी भएका थिए। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा रसुवाबाट अहिलेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधि खुलेका छैनन्।
धादिङ
धादिङमा १३ स्थानीय तहमा एमालेले सात स्थानीय तहमा प्रमुख, ६ उपप्रमुख जितेको थियो। चार प्रदेश सभा रहेको धादिङमा राजेन्द्र पाण्डे र रामकुमार अधिकारीले प्रदेश सभामा जितेका थिए। पाण्डे माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर खुलेका छन्।
एमालेबाट धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल विजयी भएका थिए। गंगाजमुना गाउँपालिकामा अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एञ्जिला तमाङ, गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र उपाध्यक्ष सिता ढुङ्गाना, गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा लामिछाने, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार श्रेष्ठ, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्विका रुपाखेती पौडेल एमालेबाट विजयी भएका थिए।
त्यस्तै नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्य र ज्वालामुखी गाउँपालिका उपाध्यक्ष जानुका सिंखडा एमालेबाट विजयी भएका थिए। तर, प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेबाहेक अहिलेसम्म अन्य कोही एकीकृत समाजवादीमा खुलेका छैनन्।
मकवानपुुर
१० स्थानीय तह रहेको मकवानपुरमा एमालले ५ स्थानीय तहमा प्रमुख र सात स्थानीय तहमा उपप्रमुख जितेको थियो। चार प्रदेश सभा रहेको मकवानपुरमा डोरमणी पौडेलले मात्र प्रदेश सभामा जितेका थिए। त्यस्तै, समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएकी मुनु सिग्देल एकिकृत समाजवादीतिर लागेकी छन्।
इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो। बकैयाँ गाउँपालिका, बागमती गाउँपालिकामा एमालेले उपाध्यक्ष जितेको थियो। एमाले छाडेर एकीकृत समाजवादी रोजेकी प्रदेश सभा सदस्य सिग्देलले मकवानुपरमा एमालेले जितेको स्थानीय तहबाट एकीकृत समाजवादीमा धेरै जनप्रतिनिधि आउने दाबी गरिन्।
चितवन
चितवनमा ७ स्थानीय तहमा एमालेले चार स्थानीय तहमा प्रमुख जितेको थियो भने पाँच वटामा उपप्रमुख जितेको थियो। प्रदेश सभामा चार सिट नै एमालेले जितेको थियो।
दावा दोर्जे लामा, कृष्णप्रसाद खनाल, विजय सुवेदी र कृष्णप्रसाद भुर्तेलले प्रदेश सभा जितेका थिए। प्रदेश सभामा विजयी भएकामध्ये दुई जनाले माधव नेपाललाई साथ दिएका छन्। चितवनबाट प्रदेश सभामा विजयी भएका सांसद कृष्णप्रसाद शर्मा खनाल एकीकृत समाजवादीतिर खुलेका छन्, एमाले छाडेर एकीकृत समाजवादीमा खुलेसँगै उनले सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका छन्। त्यस्तै, प्रदेश सभा सदस्य पार्वती सिलवाल पनि एमाले छोडेर एकीकृत समाजवादीमा लागेका छन्।
कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेले जितेको थियो भने माडी नगरपालिका उपप्रमुखमा एमाले विजयी भएको थियो। दुई प्रदेश सभा सदस्य एकीकृत समाजवादीमा खुलेपनि चितवनमा स्थानीय तहका जनप्रतिनिधि भने अहिलेसम्म खुलेका छैनन्।
भक्तपुर
भक्तपुरमा चार स्थानीय तहमा ३ वटामा प्रमुखमा एमाले विजयी भएको थियो भने २ वटामा उपप्रमुख जितेको थियो। प्रदेश सभामा तीन सिट एमालेले जितेको थियो। हरिशरण लामिछाने, शक्तिजङ थापा र राजेन्द्रमान श्रेष्ठले प्रदेश सभामा जितेका थिए। तर, लामिछानेको मृत्युपछि भएको निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले उक्त सिट जितेका थिए। एमालेले जितेका दुई प्रदेश सभा सदस्यमध्ये राजेन्द्रमान श्रेष्ठले एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन्।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले मध्यपुर थिमि नगरपालिकामा प्रमुख जितेको थियो। स्थानीय तहमा विजयी भएका एमालेका जनप्रतिनिधिहरुले अहिलेसम्म औपचारिक रुपमा एकीकृत समाजवादी रोजेका छैनन्।
ललितपुर
६ स्थानीय तह रहेको ललितपुरमा एउटा नगर र एउटा गाउँपालिका एमालेले जितेको थियो। चार प्रदेश सभा सदस्य पनि एमालेले जितेको थियो। चेतनाथ सञ्जेल, माधवप्रसाद पौडेल, ज्ञानेन्द्र शाक्य र जीवन खड्काले प्रदेश सभामा जितेका थिए। जसमध्ये माधवप्रसाद पौडेलले एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन्।
महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा प्रमुख/उपप्रमुख जितेको एमालेका स्थानीय तहका जतप्रतिनिधिले अहिलेसम्म एकीकृत समाजवादी रोजेका छैनन्।
काठमाडौं
११ स्थानीय तह रहेको काठमाडौमा महानगरसहित ६ नगरपालिका प्रमुख एमालेले जितेको थियो। त्यस्तै, आठ उपप्रमुख एमालेले हात पारेको थियो। काठमाडौवाट एमालेले प्रदेश सभामा ९ सदस्य जितेको थियो। गणेशप्रसाद दुलाल, सानुकुमार श्रेष्ठ, मणिराम फुयाँल, रामेश्वर फुयाँल, कुसुमकुमार कार्की, नारायणबहादुर सिलवाल, दीपक निरौला, केशव स्थापितले प्रदेश सभामा एमालेबाट जितेका थिए। काठमाडौका तीन प्रदेश सभा सदस्यहरु कुसुमकुमार कार्की, बसन्त मानन्धर र रमा आलेमगर एमाले परित्याग गर्दै एकीकृत समाजवादीतिर लागेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रसमेत रहेको काठमाडौंमा उनको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिका प्रमुख र उपप्रमुख एमालेले जितेको थियो। औपचारिक रुपमा उक्त क्षेत्रका प्रमुख, उपप्रमुखले एकीकृत समाजवादी रोजेका छैनन्। काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, कीर्तिपूर नगरपालिका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती रिजाल, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोल एमालेबाट विजयी भएका थिए।
तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल तथा बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल र उपप्रमुख रमादेवी राई एमालेबाट विजयी भएका थिए। त्यस्तै नार्गाजुन, शंकरापुर र चन्द्रागिरि नगरपालिका उपप्रमुखमा एमालेले जितेको थियो। एमालेले जितेका धेरै स्थानीय तहका जनप्रतिनिधि आफूहरुतर्फ आउने एकीकृत समाजवादीका नेताहरुले दाबी गरिरहेको भएपनि बुधबारसम्म काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिले उक्त दल रोजेको औपचारिक घोषणा गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।