काठमाडौं- एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका प्रदेश १ का १० जना प्रदेश सांसद आन्तरिक छलफलमा जुटेका छन्।
प्रदेश १ निर्वाचन कार्यालयमा सनाखत गरेर फर्किएपछि उनीहरूले आन्तरिक छलफल गरिरहेका छन्। एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद राजेन्द्र राईले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरु आन्तरिक छलफलमा जुटेको बताए।
उनले एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्री भीम आचार्यले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि ६ दिन अघि मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
‘ढिलोमा २३ गतेभित्रमा मुख्यमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुन्छ,’ उनले भने, ‘त्यसपछि भने गठबन्धनमा रहेका दलहरुले सरकार निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउँछौं।’
उनले अविश्वासको प्रस्तावबारे केही कानुनी जटिलता रहे पनि राजनीतिक दबाब अघि बढाइने बताए। प्रदेश १ मा एमाले छाडेर सांसदहरू राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, खिनु लङ्वा लिम्बू, सरिता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ र सुनिता चौधरीले नवगठित एकीकृत समाजवादी पार्टी रोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।