काठमाडौं- नेकपा (एमाले)को विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको उपस्थिति कुनै प्रदेशमा मजबुत देखिएको छ भने कुनैमा निकै कमजोर।
यस्तै कमजोरमध्येको प्रदेश हो, लुम्बिनी। तत्कालीन नेकपा र त्यसपछि एमालेमा अन्तरसंघर्ष चुलिँदा नेपालपक्षमा रहेका एमालेका स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, घनश्याम भुसाल र गोकर्ण विष्ट पार्टी विभाजन हुँदा नेपालतिर नलागेर एमालेमै बसेपछि त्यसको असर लुम्बिनीमा देखिएको हो। यी तीनैजना नेता लुम्बिनीका हुन्। यो असर लुम्बिनीका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि सबैतिर परेको छ।
लुम्बिनी प्रदेश सभामा एमालेका ३८ जना सदस्य भएपनि विष्णु पन्थी र रमा घर्ती नेपालपक्षमा खुलेका थिए। तर, नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि उनीहरू एमालेमै रहेको एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले बताए। प्रदेश सभामा नेपालक्षमा एक सांसद समेत नभएको उनको दाबी छ। लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर कस्तो परेको छ? अनि नेकपा (एकीकृत समाजवादी)को अवस्था लुम्बिनीमा कस्तो छ? यहाँ हामीले लुम्बिनी प्रदेशका सबै जिल्लाको जिल्लागत अवस्था केलाएका छौं।
दाङ
दाङमा एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, बबई र गढवा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो। त्यसैगरी, लमही नगरपालिका प्रमुखमा एमालेबाट कुलबहादुर खत्री र दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेकै भागीराम चौधरी निर्वाचित भएका थिए।
गढवा गाउँपलिका उपाध्यक्ष शान्ति चौधरी नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं दाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीकी दिदी हुन्। मेटमणि समाजवादीमा लागेकाले शान्ति समाजवादीमै लाग्ने भएकी छन्। यस्तै, घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपाने र बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा पनि एकीकृत समाजवादीमा लाग्ने मेटमणिको दाबी छ। उनीहरु दुवैजना यसअघि एमालेको नेपालपक्षमा भएपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन्।
एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्का, उपाध्यक्ष हिराचन्द्र केसी, उपसचिव सुरामणि बेल्वासे लगायतका नेताहरु एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको ८४ सदस्यीय जिल्ला कमिटीका अधिकांश नेता आफ्नो पार्टीमा लाग्ने मेटमणिको दाबी छ।
‘पहिलेदेखि नै जिल्ला पार्टीमा संस्थापन पक्ष अल्पमतमा थियो’, उनले भने, ‘एकीकृत समाजवादी पार्टी गठन भएपछि हाम्रो पक्षकाबाहेक अरु पनि संस्थापन छाडेर आउँदै हुनुहुन्छ, जिल्ला पार्टीमा एकीकृत समाजवादी बहुमतमा हुन्छ।’
गुल्मी
गुल्मीमा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट नै नेपालपक्षमा रहेकाले नेपालपक्षको प्रभाव बलियो थियो। तर, उनी आफैं एमालेमा बसेपछि स्थानीय जनप्रतिनिधि समेत संस्थापनतिर लागेको प्रदेश सभा सदस्य खड्गबहादुर खत्रीले बताए।
प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष तथा जिल्ला पार्टी कमिटी संस्थापन (एमाले)तिरै रहेको उनले बताए। गुल्मीका सात स्थानीयतहमा एमाले अध्यक्ष उपाध्यक्ष जितेको छ। त्यसमध्ये तीन स्थानीय तहमा उपाध्यक्ष मात्रै जितेको छ। गुल्मी इमाली गाउँपालिका अध्यक्ष लक्ष्ममणबहादुर विष्ट गोकर्णका दाजु हुन्। त्यसैले गोकर्ण जता गयो उतै लाग्ने स्थिति थियो।
यस्तै, सोही गाउँपालिका उपाध्यक्ष विमला खत्री समेत एमालेमै रहेन प्रदेश सभा सदस्य खत्रीले बताए। अरु स्थानीय तहमा पहिलेदेखि नै संस्थापनतिर रहेको खत्रीको दाबी छ। एकीकृत समाजवादी केन्द्रीय सदस्य रामकुमारी झाँक्री गुल्मीकै भए पनि गुल्मीमा उनको खासै प्रभाव देखिएको छैन।
पाल्पा
पाल्पाका ६ स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेले जितेको छ। त्यसबाहेक बग्नासकाली गाउँपालिका उपप्रमुखमा सरस्वती दर्लामी एमालेबाट निर्वाचित भइकी थिइन्। पाल्पाको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठक एमाले हुँदा नेपालपक्षमा भएपनि पछिल्लो समय ओलीतिर लागेको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले बताए।
यस्तै, निस्दी गाउँपालिका अध्यक्ष भुक्तबहादुर सारु मगर र उपाध्यक्ष रिताकुमार खनाल नेपालपक्षमा भएपनि पार्टी विभाजन भएपछि संस्थापनतिर लागेको पाण्डेले बताए।। रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी नेपालपक्षतिरै बस्न सक्ने भन्दै नेपालपक्षका नेताहरु फकाउन लागि परेका छन्। तर, उनी पार्टी विभाजनपछि कतै खुलेका छैनन्।
पाल्पाका नेता सोमप्रसाद पाण्डे र ठाकुर गैरे दुवै नेपालपक्षमा थिए। पाण्डे अन्तिम घडीमा नेपालपक्षमा खुले पनि कानुनतः एमालेमै छन्। त्यस्तै, गैरेले पनि एमालेमै बस्ने निधो गरेका छन्। त्यसको असर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमा भने नपरेको नेताहरुको दाबी छ।
अर्घाखाँची
अर्घाखाचीका ६ स्थानीय तहमध्ये मालारानी गाउँपालिका प्रमुख र उपप्रमुख, पाणिनी गाउँपालिका उपाध्यक्ष मात्रै जितेको छ। यसरी निर्वाचित भएका तीनै जना जनप्रतिनिधि पहिलेदेखि नै संस्थापनतिर भएकाले उतैतिर रहने मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए।
एमाले अर्घाखाँची जिल्ला कमिटीका संयोजक पिताम्बर भुसाल एमालेमै रहेपनि सचिव रामबहादुर चौहान भने नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। तत्कालीन एमालेका ८० सदस्यीय कमिटीमा चौहानसहित १५ जना जिल्ला कमिटीबाट एकीकृत समाजवादीमा लाग्ने आचार्यको दाबी छ। राष्ट्रिय सभा सदस्य वेदुराम भुसाल भएकाले उनको प्रभावले समेत एकीकृत समाजवादीमा लाग्न प्रेरित गरेको नेताहरुले बताएका छन्।
रूपन्देही
रूपन्देहीमा एक उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेका छन्। त्यसमा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख एमालेले जितेको छ। अरु नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी ६ एमालेले जितेको छ।
देवदह नगरपालिका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङले मात्रै एमालेबाट जितेकी छिन्। स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने समय बाँकी नै रहेकाले को कता खुल्ने स्पष्ट भइनसकेको सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले बताए।
‘स्थानीय तहका जनप्रतिनिधि कुनै संस्थापन कुनै नेपालक्षतिर थियौं’ अधिकारीले भने,‘अब दल नै विभाजन गरेर माधव कमरेडले नयाँ पार्टी बनाएपछि को कता लाग्ने टुंगो लागेको छैन।’ एमाले रूपन्देही जिल्ला कमिटी ७५ सदस्यीय भएपनि अध्यक्ष र सचिव समेत कता खुल्ने टुंगो नलागेको अधिकारीले बताए।
जिल्ला कमिटीमा रहेका सिद्धिचरण भट्टराई भने एकीकृत समाजवादीतिर खुलेका छन्। रूपन्देहीबाट प्रतिनिधित्व गर्ने विष्णु पौडेल, घनश्याम भुसाललगायत नेताहरु संस्थापनतिरै भएकाले जिल्ला र स्थानीय तहका जनप्रतिनिधिमा असर नपर्ने नेताहरुले बताएका छन्। भुसाल नेपालपक्षमा खुलेर लागेको भए स्थानीय तहका जनप्रतिनिधि र जिल्ला कमिटीमा समेत असर पर्न सक्ने बताइएको छ।
कपिलवस्तु
एमाले कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष झविलाल पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट भएकाले जिल्ला कमिटीमा पार्टी विभाजनको खासै असर नपर्ने शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए।
कपिलवस्तुमा एमालेले दुई स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको छ। उनीहरु सबै एमालेमै रहेका छन्। प्रदेश सभा सदस्य विष्णु पन्थी नेपालपक्षमा भए पनि पार्टी विभाजन भएपछि एमालेमै रहने निधो गरेको अधिकारीले बताए।
रुकुम (पूर्व)
रुकुम (पूर्व)मा एमालेले स्थानीय तहका प्रमुख र उपप्रमुखमा एक सिट पनि जितेको छैन। त्यहाँको जिल्ला पार्टी कमिटी एमालेमै रहने केन्द्रीय सदस्य गोकुल घर्तीले बताए।
रोल्पा
रोल्पामा त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको छ। उनीहरु पहिलेदेखि नै संस्थापनमा रहेकाले अहिले एमालेमै रहेको एमाले केन्द्रीय सदस्य घर्तीले बताए। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षदेखि वडा सदस्यसम्म एमालेमै रहने उनले दाबी गरे।
एमालेका रोल्पा जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती र सचिव ओमराज घर्ती भने एकीकृत समाजवादीतिर लागेका छन्। अध्यक्ष र सचिव नै एकीकृत समाजवादीतिर लागेकाले जिल्ला पार्टीमा एमाले कमजोर हुन सक्ने आकलन गरिएको छ।
प्युठान
प्युठान जिल्लामा स्थानीय तहमा एक प्रमुख र एक उपप्रमुख एमालेबाट निर्वाचित भएका थिए। प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य र माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकामध्ये आचार्य एकीकृत समाजवादीतिर लाग्न सक्ने नेताहरुले बताएका छन्।
जिल्ला अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतमनिकट भएकाले उनी गौतममा निर्भर हुने बताइन्छ। गौतम एकीकृत समाजवादीमा लागेमा जिल्ला कमिटीका धेरैजसो नेता समाजवादीतिर लाग्ने बताइन्छ।
तर, एमाले स्थायी कमिटी सदस्य मणि थापाले अहिलेसम्म जिल्ला कमिटीका अधिकांश नेताहरु एमालेमै रहेको दाबी गरे। स्थानीय जनप्रतिनिधि प्रायः संस्थापनबाटै निर्वाचित भएकाले एकीकृत समाजवादीमा लाग्ने सम्भावना कम देखिएको थापाले जिकिर गरे।
बाँके
एमालेले गत स्थानीय निर्वाचनमा बाँकेको तीन स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको थियो। कोहलपुर नगरपालिकामा मेयर एमालेका लुटबहादुर रावत निर्वाचित भएका थिए भने उपप्रमुख कांग्रेसले जितेको थियो।
बाँकेका एमालेबाट निर्वाचित सबै स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमै रहने कोहलपुर नगरपालिका मेयर रावतले बताए। तर, एमाले जिल्ला सचिव भई एकीकृत समाजवादीतिर लागेका रत्नबहादुर खत्रीले दुई स्थानीय तह नेपालपक्षका भएपनि जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको निधन भइसकेको छ भने उपप्रमुख भूमिसरा धिताल आफ्नो पक्षमा हुने बताए। खजुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नखुलेको खत्रीले बताए।
एमालेका बाँके जिल्ला अध्यक्ष अशोक कोइराला भने नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। उनी समाजवादीतिर लागेकाले जिल्ला कमिटीमा धेरै नेता उनीसँगै जान सक्ने बताइएको छ।
बाँकेबाट २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित दलबहादुर सुनार नै नेकपा एकीकृत समाजवादीतिर लागेकाले उनको व्यक्तिगत प्रभावका कारण पार्टी कमिटी र जनप्रतिनिधिमा समेत असर पर्न सक्ने बताइन्छ। स्थानीय तहका जनप्रतिनिधि र जिल्ला पार्टीका को कता जाने भन्ने विषयमा खुल्न बाँकी रहेको खत्रीले बताए।
‘हामी स्थानीय तहका जनप्रतिनिधि र जिल्ला पार्टीका नेताहरु आफ्नो पक्षमा ल्याउन लागिपरेका छौं’ खत्रीले भने ‘अझै उहाँहरु खुल्न मान्नुभएको छैन त्यसैले को कता जान्छन भन्ने टुंगो लागेको छैन।’
बर्दिया
बर्दियामा एमालेले दुई स्थानीय तहका प्रमुख र उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको प्रमुख जितेको थियो।
बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र बाँसगढी नगरापलिका प्रमुख सालिकराम अधिकारी वामदेव गौतम निकट थिए। गौतमले तत्कालीन नेकपा हुँदादेखि नै कित्ता स्पष्ट गर्न नसकेपछि संस्थापनतिर लागेको र अहिले एमालेमै रहेको श्रेष्ठले बताए।
नवलपरासी (पश्चिम)
नवलपरासी (पश्चिम)बाट एमालेले बर्दाघाट र सुस्ता नगरपालिका प्रमुख र उपप्रमुख जितेको छ। सुनवल नगरपालिका प्रमुख जित्न नसकेपनि उप्रमुख एमालेका दधिराम अर्यालले जितेका छन्।
यसअघि स्थानीय जनप्रतिनिधिहरु संस्थापनको विपक्षमा भएपनि पार्टी विभाजनपछि एकीकृत समाजवादीमा नलागेको सुनवल नगरपालिका उपमेयर अर्यालले बताए। जिल्ला कमिटी भने यसअघिदेखि नै एमालेमा समानन्तर रुपमा चल्दै आएको छ।
ओलीपक्षले जिल्ला कमिटी बनाएपछि नेपालपक्षले शिवलाल कँडेललाई अध्यक्ष बनाएका थिए। उनको निधनपछि पनि नेपालपक्षले समानान्तर कमिटी चलाइरहेको थियो। अहिले कँडेलपक्ष नेपालतिर लागेको छ। एमालेको जिल्ला कमिटी भने दीपेन्द्र अधिकारीले चलाइरहेका छन्। उनी संस्थापनतिरै छन्।
जिल्ला पार्टीमा यसअघि नै समानन्तर कमिटी रहेकाले त्यसैअनुसार एउटा समूह एकीकृत समाजवादीमा लागेको छ भने अर्को समूह एमालेमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।