सिन्धुली- बिपी राजमार्गमा ठूला गाडी गुडाउन पूर्णरुपमा रोक लगाइएको छ।
बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बिहीबारदेखि ठूला सवारी साधन प्रवेशमा रोक लगाइएको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए। 'अहिले सडकको बीचमा परेका र गन्तव्यमा पुग्न नसकेका ठूला सवारी साधनलाई गन्तव्यमा पुग्न दिइनेछ, अन्य इजाजतविनाका कुनै पनि सवारीसाधन सञ्चालन गर्न दिइने छैन,' उनले भने।
यसअघि यातायात व्यवस्था विभागले राजमार्गमा चक्काका आधार चार हजार दुई सय एमएम भएको र ३२ सिट क्षमताको सवारी साधनलाई बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो। राजमार्गमा सडकको गुणस्तर उपयुक्त भए पनि सडकको चौडाइका आधारमा ठूला सवारी साधन सञ्चालन गर्नु जोखिमपूर्ण भएको भनी तीव्र असन्तुष्टि भइरहेका बेला अदालतको निर्णय स्वागतयोग्य रहेको सिन्धुली गोलञ्जोरका विवश थापाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।