हेटौँडा- प्रदेश नं ३ को बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ।
बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करीब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताए।
मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङ लगायत पर्यटकीय क्षेत्रको विकास र रेडपाण्डाको अनुसन्धान, संवर्द्धन गर्ने एवं वातावरणमा स्वच्छता ल्याउने कार्यमा योगदान गरेका डा प्रल्हाद योञ्जनलाई सम्मान गर्न स्याफ्रुबेँसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा प्रह्लाद योञ्जन रेडपाण्डा पदयात्रा मार्ग नामकरण गरिएको जानकारी दिए।
यसैगरी उनले प्रदेश नं ३ मा उत्पादनमूलक रोजगारी दिलाउन सरकारले सहकारीबाट सञ्चालन हुँदै आएको आर्थिक गतिविधिलाई अब घरेलु उद्योग तथा मझौला उद्योग स्थापना र विस्तारमा पनि जोडी लागु गर्ने नीति रहेको स्पष्ट पारे।
मुख्यमन्त्री पौडेलले आगामी २०८५ बैसाख १ गतेसम्म काठमाडौँ उपत्यका लगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी साधनलाई निषेध गर्ने योजना रहेको बताए। हल्का सवारी साधनको चाप बढ्दै जाँदा पैदल यात्रुलाई आगमनमा कठिनाइ हुनाका साथै वातावरण प्रदूषित हुने भएकाले ती क्षेत्रमा र विद्युतीय सवारी साधानलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।