काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेकोमा माधवकुमार नेपालको आलोचना गरेका छन्। शनिबार ललितपुरमा युवा संघद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले विभाजनतिर लागेका नेताहरुलाई कुलंघारको संज्ञा दिए।
उनले पार्टीलाई चुनावी तालमेल गराएर, पार्टी एकीकरण गराएर लगभग दुईतिहाइको स्थितिमा पुर्याएको, सातमध्ये ६ वटा प्रदेशमा आफ्नो अध्यादेशको बहुमतको सरकार बनाएको, ३५ हजारमध्ये २० हजारभन्दा बढीमा आफ्ना प्रतिनिधि हाबी गराएको बताउँदै त्यसलाई केही नेताले सहन नसकेको बताए।
'त्यो स्थिति सहन नसकेर पार्टी फुटाउने, सरकार गिराउने, प्रदेश प्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेकोलाई गर्न नदिने। त्यस्ता खालका कुलंघार नेताहरु यस पार्टीमा जन्मिए। लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिएर, कमलको फूल हल्लाएर, सूर्य चिह्नलाई धक्का दिएर, हसिया हथौडालाई धुजाधुजा पारेर, हाम्रो यात्राको बाटोमा खाल्डाखाल्डा खनेर लामो समय दुःख दिएर, अस्तिका दिन त पुर्जा लिए क्यारे दलको! कस्तो बुद्धि होला?,' उनले भने।
ओलीले एमालेलाई महासागरसँग तुलना गर्दै त्यस्तो पार्टीमा पौडी खेल्न पुगेन भनेर माधव नेपालले खाल्डो खनेको बताए।
ओलीले आफूले सम्झाउँदा दुनियाँले सम्झिने भए पनि माधव नेपालले नसम्झिएको बताए। नेपालतिर संकेत गर्दै उनले भने, 'हामीले सम्झाउन खोज्यौं। बुझाउन खोज्यौं। सम्झाए र बुझाएर पार लागेन। कति गर्दा पनि पार लागेन। मैले बिसौं पल्ट फोन गरेँ। आठ पल्ट जहाँ-जहाँ भन्यो, त्यहीँ-त्यहीँ गएर धाएर भेटेँ। सम्झाएँ। मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ। तर एक दुई जना मान्छे पानी समातेर कसम खान्छ- म तिम्रो कुरा सुन्दिनँ। तिमीले सम्झाएको म बुझ्दिनँ। धरोधर्म मान्दिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।