काठमाडौं– सम्भवतः बलिउडमा अक्षय कुमारले जति देशभक्तिका फिल्ममा कमै अभिनेताले काम गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि उनले राजनीतिक र इतिहासका विषयवस्तुमा आधारित फिल्म खेले, जसमा देशभक्तिको बयान हुन्छ। ‘सूर्यवंशी’, ‘बेबी’, ‘होलिडे’, ‘गोल्ड’ लगायत अक्षयका आधा दर्जन फिल्म देशभक्तिका विषयमा छन्।
उनको अर्को देशभक्तिको गाथा गाइएको फिल्म ‘बेल बटम’ एक सातादेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ। चार महिनाभन्दा बढि समय बन्द रहेका थिएटर र दुई वर्षदेखि सुस्ताएका सिनेमा हललाई बेल बटमले गति दिने अपेक्षा गरिएको छ। रञ्जित तिवारीको निर्देशन रहेको यो फिल्मले राम्रै आम्दानी गरिरहेको छ। केही देशमा भने ‘तथ्यगत त्रुटि’का कारण प्रर्दशनमै रोक लगाइएको छ।
फिल्ममा अपहरण गरिएको हवाइजहाज उद्धार गर्दा भारतीय अधिकारीहरुले मात्र भूमिका खेलेको देखाइएकाले कतार, कुवेत र साउदी अरबियामा प्रतिबन्ध लगाइएको छ। वास्तविक कथामा आधारित फिल्ममा हवाइजहाज उद्धारको विषय तोडमोड गरिएको भन्दै ती देशले प्रतिबन्ध लगाएका हुन्।
अक्षयले प्रायः ‘बायोपिक’ मा अभिनय गरेका छन्। बेल बटम भने उनका अन्य देशभक्तिका फिल्मभन्दा फरक छ। यसमा कुनै समय भारतीय राजनीतिमा भएको अस्थिरतालाई देखाइएको छ।
सन् १९७१ देखि १९८४ बीच त्यहाँ राजनीतिक मात्र नभएर सामाजिक अस्थिरता पनि भएको मानिन्छ। आफ्ना राजनीतिक माग पूरा गर्न ‘अतिवादी’ समूहहरुले हवाइजहाज अपहरण समेत गरेका थिए। ‘बेल बटम’ तीमध्ये एउटा अपहरणको घटनालाई फिल्ममा उतारिएको छ। देशभक्तिका अन्य सिनेमाभन्दा यसमा हरेक पाटालाई सन्तुलित रुपमा प्रस्तुत गरिएको छ।
दिल्लीबाट उडेको भारतीय एयरलाइन्सको जहाज अपहरणबाट फिल्म सुरु हुन्छ। इन्दिरा गान्धी (अभिनय : लारा दत्त) सरकारकै पालामा सात वर्षमा भएको जहाज अपहरणको यो पाँचौं घटना हुन्छ। अपहरित जहाजलाई फिर्ता ल्याउन सरकारले छलफल थाल्छ। जहाजलाई अपहरणकारीले दुबई पुर्याएका हुन्छन्। उक्त जहाज फर्काउन अन्तराष्ट्रिय जासुसी गर्ने भारतीय निकाय ‘रअ’का एजेन्ट अन्सुल मल्होत्रा (अक्षय कुमार), भारतीय सरकारी अधिकारी र दुबईका अधिकारीको कारबाही फिल्मको मूल कथावस्तु हो।
फिल्ममा दुई वटा ‘टाइमलाइन’ छन्। एउटा टाइमलाइन अहिलेको समयको छ, जहाँ अपहरित जहाजलाई फर्काउन समाधानको बाटो खोजिएको हुन्छ। अर्को टाइमलाइनमा अन्सुल रअको एजेन्ट हुनुअघिको कथा छ। फिल्मको दोस्रो भाग सहज रुपमा बगे पनि पहिलो भाग केही असहज र अनावश्यक प्लटले भरिएका छन्।
अन्सुल रअको एजेन्ट हुनुअघि संगीतको गुरु, फ्रेन्च भाषाको शिक्षक हुन्छन्। त्यही बेला उनी आईएएस (भारतीय सरकारी अधिकारी) बन्न प्रयास गरिरहेका हुन्छन्। यसैबीच उनकी आमाको मृत्युपछिको कथा दोस्रो भागसँग जोडिन्छ। पहिलो भागमा देखाइएको अन्सुलको व्यक्तिगत जीवनका विस्तृत विवरण अनावश्यक छन्।
बेल बटम कुनै व्यक्तिको जीवनमा नभएर एउटा समय र त्यो कालखण्डमा आधारित भएकाले फिल्ममा देखाइएको अन्सुलको व्यक्तिगत जीवन, उसको श्रीमती राधिका मल्होत्रा (बानी कपुर) सँगको भेटजस्ता प्लट अनावश्यक छन्।
फिल्मका दुवै टाइमलाइनका अधिकांश भागमा दर्शकले अपेक्षा गरेअनुरुप नै घटना अघि बढ्छन्। आमाको मृत्यु हुने समयमा अन्सुलकी श्रीमती कुनै प्रशिक्षणका लागि श्रीनगर जान्छिन्, आमा लण्डन जानलाई निस्किएकी हुन्छिन्। अपहरित विमानमा चढेकी आमाको दम बढेर मृत्यु हुन्छ। आमाकै कारण अन्सुलले अपहरणको घटनालाई आफूसँग जोडेर काम गरिरहेका हुन्छन्।
दोस्रो टाइमलाइन अर्थात्, अहिलेको कथा भने सहज रुपमा बगेको छ। सम्पादनको हिसाबले पनि अनावश्यक दृश्यभन्दा ‘टु द पोइन्ट’ दृश्य देखाइएका छन्। चाहे लण्डनमा अपहरणकारीलाई भेट्दाको दृश्य होस् वा भारतबाट पाकिस्तानका अधिकारीसँग गरिएको संवादमा, फिल्म सहज बगेको छ।
प्रायः हिन्दी फिल्ममा पाकिस्तानलाई प्रस्तुत गरिने भाष्य ‘आतंकवादीको संरक्षक’को छ। तर, यो फिल्ममा उक्त भाष्य बदलिएको छ। पाकिस्तानका अधिकारीहरुले दोहोरो चरित्र देखाउने संकेत पाइए पनि समग्रमा पाकिस्तानमाथि नै प्रश्न गरिएको वा नकरात्मक रुपमा प्रस्तुत गरिएको छैन। अन्सुलले दोस्रो भागमा बोलेको एउटा संवाद छ, ‘पूरै पाकिस्तानका मानिसलाई दोष दिन्नँ। तर, पाकिस्तानभित्रै केही तत्वहरु छन्।’ कतै यस्ता द्विअर्थी संवाद भए पनि समग्रमा नकारात्मक सन्देश छैन।
फिल्ममा इन्दिरा गान्धीको भूमिकामा लारा दत्तको अभिनय स्वाभाविक छ। उनको मेकअप पात्र सुहाउँदो छ।
यति हुँदाहुँदै पनि ‘बेल बटम’ घटना केन्द्रित हुन सकेको छैन। फिल्म घटनामाथि आधारित भए पनि अन्सुलको जीवनलाई बढी महत्त्व दिइएको छ। प्रायः घट्ना अगाडि नै अनुमान गर्न सकिन्छ। बलिउडका अधिकांश देशभक्तिका फिल्ममा हुने जस्तै घटना यहाँ पनि छन्। अक्षयको अभिनयमा खास फरकपन छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।