रसुवा– नेपाल र चीनबीचको व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार भवन निर्माणका लागि बाटो खुलेको छ।
एकीकृत भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाउन भन्दै करिब साढे एक वर्षअघि सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएसँगै भवन निर्माणको बाटो खुलेको हो।
न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो। आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ मा सर्वोच्चमा रिट हालेको थियो।
रिट खारेज भएसँगै अब एकीकृत भन्सारको निर्माण कार्य एक साताभित्रै सुरु हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका प्रमुख धीर फडेराले बताए।
‘सर्वोच्च अदालतमा मुद्दा परेकाले भवन निर्माण कार्य सुरु गर्न सकेका थिएनौं, अब तत्कालै सुरु गर्छौं’, उनले भने।
तीन वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको एकीकृत भन्सारको भवन डिभिजन कार्यालय मार्फत श्यामसुन्दर रबिना जेभीले निर्माण गर्ने बताइएको छ। भवन निर्माणका लागि ५४ करोड ५ लाख ५५ हजार आठ सय १९ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन तथा एकीकृत जाँच चौकी रहनेछन्। भवन निर्माणपछि चेकजाँच चुस्त भई अवैध क्रियाकलाप रोक्न सहज हुने रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख गोपाल कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।