काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सदाचार नीति तत्काल लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले सदाचार नीति लागू गर्न ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। बिहीबार काठमाडौंमा ‘बेथितिको जालो’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले देशमा भ्रष्टाचार बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न बनाएका कानुन कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सचेत गराए।
अध्यक्ष अर्यालले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन ऐन ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेकोमा पनि चिन्ता व्यक्त गरे।
कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकलाई सदाचारको बाटोमा अघि बढाउन दृढ इच्छाशक्ति भएको नेतृत्व आवश्यक रहेको बताए। उनले पारदर्शिता, सदाचार नै भ्रष्टाचार नियन्त्रण गर्ने आधार भएको पनि उल्लेख गरे।
कार्यक्रमका अन्य वक्ताहरुले पनि भ्रष्टाचार नियन्त्रणको कामलाई योजनाबद्ध ढंगले अघि बढाउन सरकारसँग आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।