काठमाडौं- युरोपेली कमिसन स्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन्।
रौनियारले बेलजियमको ब्रस्सेल्समा बुधबार आयोजित समारोहमा उक्त पुरस्कार पाएका हुन्। 'दीर्घकालीन ऊर्जामा माहिला सशक्तीकरण' विषयक प्रतियोगितामा पेरु र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरे।
रौनियारको तस्बिरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको साकारात्मक परिवर्तन देखाइएको छ।
'त्यस प्रकारका चुल्होले दाउराको खपत कम गर्नुका साथै एकै समयमा तिनथरी खाना बनाउन मद्दत गर्छ। साथै, हिमाली र पहाडी भेगमा न्यानो दिने काम पनि गर्छ। धुँवाको निकाश पाइपबाट हुने भएकाले यसले स्वास्थ्यमा नराम्रो असर गर्दैन र यसबाट निस्केको खरानीले करेसबारीमा मलको काम पनि गर्छ,' रौनियारले तेस्रो पुरस्कार प्राप्त आफ्नो तस्बिरबारे भने।
उक्त प्रतियोगितामा ७० भन्दा बढ़ी देशका ९९ फोटा प्रतिस्पर्धाका लागि छानिएका थिए। जसमध्ये आनलाइन भोटद्वारा ३० उत्कृष्ट फोटाहरु छानिएका थिए।
उत्कृष्ट तीन फोटा भने युरोपेली कमिसन स्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयका प्रतिनिधि तथा बाहिरी फोटोग्राफरद्वारा छानिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।