राजविराज– सप्तरीमा चुरे संरक्षणसँग जोडिएका योजनामध्ये ८० प्रतिशत सम्पन्न भएको पाइएको छ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्तर्गत जिल्ला भूसंरक्षण कार्यालयले सञ्चालन गरेका ७३ योजनामध्ये हालसम्म ५७ वटाको काम सकिएका छन्। बलान नदी प्रणाली सघन आयोजना र सुन्दरी–खाँडो खोला नदी प्रणाली संरक्षण कार्यक्रम गरी दुई खण्डमा सञ्चालित ७३ वटा योजनामध्ये ५७ वटा योजना सम्पन्न भएको जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख विष्णुबहादुर भण्डारीले जानकारी दिए।
७३ मध्ये १३ वटा योजना चालू अवस्थामा रहेका र ३ वटा योजनाको सम्झौता नभएको भण्डारीले बताए। योजना अन्तर्गत क्षतिग्रस्त भूमि पुनःउत्थान, संरक्षण पोखरी निर्माण र संरक्षण, गल्छी पहिरो तथा खहरे रोकथाम, रनअफ हार्भेस्टिङ ड्याम निर्माण, सिँचाइ कुलो संरक्षण मर्मत तथा सुधार लगायतका काम गरिएको कार्यालयले जनाएको छ।
भण्डारीले योजनाका लागि कुल ३ करोड ५४ लाख ४४ हजार बजेट विनियोजन गरिएकोमा हालसम्म २ करोड ५९ लाख ५७ हजार १ सय ९५ रुपैयाँ खर्च भइसकेको बताए। सरकारले २०७४ चैत २८ गतेपछि कुनै पनि विकास कार्य सम्झौता नगर्नू भन्ने आदेश जारी भए अनुरुप २६ लाख २६ हजार बराबरका तीन वटा योजना सम्झौता हुन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।