काठमाडाैं– मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको प्राथमिक सेयर सोमबार बिहान बाँडफाँट भएको हो।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर वितरण भएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ।
गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता सेयर पाएका छन्। तीन जना आवेदकले भने ११ कित्ता सेयर पाएका छन्।
लघुवित्तको आईपीओमा २३ लाख ५४ हजार ७८४ जनाले आवेदन दिएकोमा ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो।
त्यसमध्ये कर्मचारीका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो।
हाल कम्पनीको चुक्तापुँजी ७ करोड रहेको छ । आईपीओ निष्काशनपश्चात यो पूँजी १० करोड ९३ लाख ७५ हजार पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ ।
यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।