भक्तपुर- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनकै निवास कमलविनायकबाट उनलाई बुधबार पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ। कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन अगावै विवाद सार्वजनिक भएको थियो।
होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दाबी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ। ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए।
उनले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।