तस्बिर : द गार्जियन/एपी।
सन् १९९६ सालको एउटा घटना
मरियम सफी १९ वर्षकी थिइन्। अफगानिस्तानको मजार–ए–सरिफमा मेडिकल पढ्थिन्। अचानक एकै दिनमा उनको पूरै दुनियाँ बदलियो।
तालिबानले मजार–ए–सरिफ कब्जा गरेपछि उनले आफ्नो पढाइ रोक्नु पर्यो। तालिबान सत्तामा आएपछि महिलालाई शिक्षा लिन रोक लगाइदिए। घरबाट एक्लै निस्कँदा धार्मिक पुलिसले उनीहरुलाई पिट्थे। उनीहरु पिता, भाइ वा पतिको साथमा मात्र बाहिर जान अनुमति थियो।
तालिबान शासनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिनु, ढुंगाले हानेर हत्या गर्नु, हात–खुट्टा काट्नु जस्ता सजाय सामान्य थिए। यही डरका कारण मरियमको पढाइ रोकिएको थियो। त्यसपछि उनी घरैमा कैद भएर बसिन्।
तर, जब सन् २००१ मा अमेरिका नेतृत्वको सेनाले अफगानिस्तानमाथि हमला गरेर तालिबानलाई सत्याच्युत गर्यो, मरियमले आफ्नो पढाइ पूरा गरिन्। २० वर्षपछि यसै महिना तालिबानले काबुल कब्जा गरेपछि उनलाई यी सबै घटना ताजा भएर सम्झनामा आए।
अब १७ अगष्ट २०२१ को घटना
तालिबानले काबुल कब्जा गरेको दुई दिनपछि मरियम एउटा होटलमा थिइन्। उनले देखिन् कि, होटलका पुरुष कामदारले दुई दिनदेखि दारी सेभ गरेका थिएनन्। रिसेप्सन, 'रुम सर्भिस' र सफाइमा महिला कामदार थिएनन्। होटलमा दुई दिनअघिसम्म बजिरहेको ‘ब्याकग्राउन्ड म्युजिक’ पनि बन्द थियो। ‘मैले त्यहाँका मानिससँग यसबारे सोध्दा उनीहरुले तालिबानसँग आबद्ध आफ्ना साथी त्यहीँ भएको बताएका थिए,’ मरियमले भनिन्।
माथिको सन्दर्भ तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँको अवस्था बताउन बीबीसीका संवाददाता मलिक मुदस्सिरले बनाएको रिपोर्टको एउटा अंश हो।
तालिबान २.० र तालिबान १.०
माथिका दुई वटा घटनाले सन् १९९६ को तालिबान र सन् २०२१ को तालिबानमा खास बदलाब महसुस गराउँदैन। तर, अघिल्लो हप्ताको मंगलबार साँझ तालिबानको ‘तेस्रो चेहरा’ पनि दुनियाँको सामुन्ने आएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद त्यो दिन पहिलो पटक मिडियाको अघि देखा परे। दुई साथीसहित पत्रकार सम्मेलनमा बसेका उनले तालिबानको त्यो ‘उदार अनुहार’ देखाए, जो सन् १९९६–२०२१ का तालिबानभन्दा अलग थियो।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद। तस्बिर : बीबीसी
जबिबुल्लाह मुजाहिदले भने, ‘हामी अन्तराष्ट्रिय समुदायलाई भरोसा दिन चाहन्छौँ कि उनीहरु (महिला) माथि कुनै भेदभाव गरिने छैन। हामीले ती सबैलाई माफी दियौँ, जसले हामीविरुद्ध लडाइँ लडे। हामी शरिया व्यवस्थाअनुसार महिलालाई अधिकार दिन प्रतिबद्ध छौँ। महिला हामीसँग काँधमा काँध मिलाएर काम गर्न जानेछन्।’
तालिबान अहिले टेलिभिजन क्यामरामा कुरा चाहिँ महिलालाई काम गर्ने छुट दिने र बदला नलिने गरिरहेका छन्, तर यथार्थमा यस्तो स्थिति देखिँदैन। यसकारण प्रश्न उठेको छ कि, सन् २०२१ का तालिबान सन् १९९६ को तालिबानभन्दा फरक छन्? अथवा, यो सबै देखाउनका लागि मात्र गरिरहेका छन्? अथवा, समयको माग हो?
२० वर्षमा अफगानिस्तान र दुनियाँ दुवै बदलिएका छन्। पहिलाको तुलनामा अफगानिस्तानमा धेरै महिला पढ्न गइरहेका छन्। धेरैले जागिर गरिरहेका छन्। के तालिबान यी महिलालाई बुर्का लगाइदिएर फेरि घरमै बस्ने आदेश पारित गर्दैछ? यो प्रश्नको जवाफ कसैलाई थाहा छैन।
तस्बिर : द गार्जियन/एपी।
केही रिपोर्टअनुसार तालिबानले महिलालाई मुजाहिदिन (इश्लामिक लडाकु) सँग जबरजस्ती विवाह गराइदिइरहेका छन्। त्यसकारण तालिबानको नयाँ शासनबारे थाहा पाउन कम्तीमा ६ महिना पर्खिनुपर्नेछ। त्यसपछि मात्र उनीहरुको अनुहार स्पष्ट रुपमा चिन्न सकिने छ।
तालिबानले सत्ता सम्हालेपछि मात्र उसका प्रमुख नेता को हुने हुन् भन्ने प्रष्ट हुनेछ। त्यसपछि सरकार साउदी अरब जस्तो बन्छ कि यूएई जस्तो बन्छ, वा आफ्नो अलग्गै बाटो बनाउँछ भन्ने हेर्नुपर्नेछ। यति बेला यही मात्र आशा गर्न सकिन्छ कि २० वर्षमा अफगानिस्तान बदलिएजस्तै तालिबान पनि केही बदलिएको छ।
२० वर्षअघि सन् २००१ मा प्राथमिक विद्यालयमा कोही पनि छात्रा थिएनन्। विश्व बैंकको एक रिपोर्ट अनुसार केबल १० लाख छात्र मात्र प्राथमिक विद्यालय जान्थे। तर, सन् २०१२ को विश्व बैंकको रिपोर्ट अनुसार करिब ८० लाख बच्चा प्राथमिक विद्यालय जान्थे। त्यसमा करिब ३० लाख छात्रा थिए। यथार्थ यो पनि हो कि, यीमध्ये धेरै छात्रा माध्यमिक विद्यालय जान पाएनन्।
युनिसेफको सन् २०१०–११ को रिपोर्ट अनुसार १५ देखि २४ वर्षको उमेरका महिलाको साक्षरता दर २२ प्रतिशत मात्र छ। यो निकै कम भए पनि अफगानिस्तानमा आएको ठूलो परिवर्तन हो। यहाँ ५२ प्रतिशत किशोरीको २० वर्षभन्दा कम उमेरमै विवाह हुन्छ।
किन तालिबान बदलिनु जरुरी छ?
विदेश मामिलाका वरिष्ठ भारतीय पत्रकार तथा टाइम्स अफ इन्डियाका डिप्लोमेटिक एडिटर इन्द्राणी बागची तालिबान बदलिएको कुरा अहिलको अवस्थामा ढुक्क भएर भन्न नसकिने बताउँछन्। तालिबानहरुको विचार नबदलिएको र शरिया कानुन अनुसार मात्र महिलालाई अधिकार दिने कुरा बताइरहेको उनको भनाइ छ।
तस्बिर : द गार्जियन/एपी।
इन्द्राणी भन्छन्, ‘तालिबानसँग पनि अफगानिस्तानलाई बदल्ने विचार छ। के तिनीहरु फेरि एक पटक महिलालाई बन्दुकको नोक देखाइ घरमै थुनेर बच्चा पैदा गर्न मात्र लगाउन सक्छन्? उनीहरुले पनि यो बुझ्न जरुरी छ।’
गएको हप्ता तालिबानको विरोधमा हातमा पोष्टर लिएकी एक महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर 'शेयर' गर्दै ती ‘निडर’ महिलाको साहसको निकै तारिफ भएको थियो। अफगानिस्तानका केही जिल्लामा तालिबान विरोधी समूहले संघर्ष गर्न पनि थालिसकेका छन्।
लैङ्गिक समानाताको मुद्दा पश्चिमा देशको भएकाले पनि तालिबानमाथि बदिलिने दबाब हुने इन्द्राणी बताउँछन्। उनी भन्छन्, ‘२१औँ शताब्दीमा मानव अधिकार, महिला अधिकार, लैङ्गिक समानता जस्ता मुद्दा पश्चिमी देशले गम्भीर रुपमा उठाइरहेका छन्। तालिबानलाई सत्तामा रहिरहन पश्चिमा देशको स्वीकार्यता चाहिन्छ। उनीहरुबाट आर्थिक र प्राविधिक सहयोग चाहिन्छ। यस्तो अवस्थामा तालिबानले थोरै ‘उदार’ अनुहार देखाउन सक्छन्।’
-बीबीसी हिन्दीबाट भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।