काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले युनाइटेड अरब इमिरेट्सलाई १० विकेटले पराजित गरेको छ ।
न्यूजील्यान्डका टिम साइफर्ट र फिन एलिनले बिना विकेटको क्षतिमा आफ्नो टिमलाई जित दिलाए ।
पहिले ब्याटिङ गर्दै यूएईले दिएको १७४ रनको चुनौतीपूर्ण लक्ष्य न्युजिल्यान्डले मात्र १५ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
न्युजिल्यान्डका लागि साइफर्टले अविजित ८९ र एलिनले पनि अविजित ८४ रन बनाए । साइफर्टले मात्र ४२ बलमा १२ चौका र ३ छक्का र एलिनले ५० बलमा ५ चौका र ५ छक्का हिर्काए ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । उसका लागि कप्तान मुहम्मद वाशीमले सर्वाधिक ६६ रन बनाउँदा अलिसान सराइफुले पनि ५५ रनको अर्धशतकीय पारी खेले भने मयंक कुमारले २१ रन बनाए ।
बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले २ तथा ज्याक डफी, लोकी फेरगुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।